लण्डन, ८ कात्तिक । युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, लिभरपूल र बोरुशिया डर्टमण्डले जित निकाल्दा टोटनह्याम र पीएसजीले बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूह बी अन्तर्गत बुधबार राति भएको खेलमा ला लिगा च्याम्पियन बार्सिलोनाले इटलीको इन्टर मिलानलाई पराजित गरी च्याम्पियन्स लिगमा विजय यात्रा कायमै राखेको छ ।
घरेलु मैदान नाउ क्याम्पमा सुपरस्टार लियोनल मेस्सीबिना उत्रिएको बार्सिलोनाका लागि राफिन्हा र जोर्दी अल्बाले गोल गरेका थिए । खेलको ३२औं मिनेटमा लुइस स्वारेजको पास सदुपयोग गरी राफिन्हाले गोल गरेका थिए भने ८३औं मिनेटमा गोल गरेका अल्बाले इभान राकिटिचको पास सदुपयोग गरेका थिए ।
बार्सिलोनाले समूहमा अहिलेसम्म शतप्रतिशत जित हासिल गरेको छ । यसै समूहको अर्को खेलमा टोटनह्यामले भने डच क्लव पीएसभीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा पीएसभीका लागि लोजानो र लुक डि जोङले गोल गरेका थिए भने टोटनह्यामका लागि लुकास मोउरा र ह्यारी केनले गोल गरेका थिए ।
समूह सी अन्तर्गत फ्रान्सको पीएसजी इटलीको नापोलीसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा पीएसजीले नापोलीबिरुद्ध कठिन संघर्ष गर्नुपरेको थियो । खेलको अन्तिम मिनेटमा एञ्जेल डि मारियाले गोल गरी पीएसजीलाई एक अंक दिलाएका थिए ।
यसअघि २९औं मिनेटमा लोरेन्जो इनसिग्नेको गोलमार्फत नापोलीले अग्रता बनाएको थियो । ६१औं मिनेटमा मारियो रुईले आत्मघाती गोल गर्दा खेल बराबरी भयो ।
७७औं मिनेटमा पुनः पाहुना टोली नापोलीका लागि ड्राइज मार्टिन्सले गोल गरेर अग्रता दिलाएका थिए । अन्तिम एक मिनेट संहालिन नसक्दा नापोलीले अंक बाँड्न बाध्य भयो । यता समूह सीबाटै लिभरपूलले भने सर्वियाको कर्भेना भेज्दालाई ४–० गोलले हराउँदा उसका सुपरस्टार मोहम्मद सलाहले २ गोल गरे । रोवर्टो फिर्मिन्हो र साडियो मानेले १–१ गोल गरे । एजेन्सी















प्रतिक्रिया