काठमाडौं, ७ कात्तिक । नेकपाका वरिष्ठ नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको प्रदेश समिति पदाधिकारी चयन गर्ने सचिवालय निर्णयमा ‘नोट अफ डिसेन्ट’ जनाएका छन्।
साउन ५ गते नेपाल र श्रेष्ठ देशबाहिर रहेका बेला बसेको सचिवालय बैठकले सात प्रदेशका पदाधिकारी (इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव) चयनको निर्णय गरेको थियो। सोमबारको बैठकले उक्त निर्णयलाई सदर गर्यो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
नेपालले अघिल्लो निर्णयमा लिखित असहमति दर्ता गराएपछि सोमबारको बैठकमा छलफल भएको थियो। छलफलपछि सो निर्णय नै सदर भयो। नेपाल र श्रेष्ठले निर्णयमा आफूहरूको नोट अफ डिसेन्ट रहने बताएका थिए। बैठकमा नेपालले पार्टी विधान र मापदण्ड मिचेर निर्णय भएकाले पुनर्विचार गर्न माग गरे। श्रेष्ठले भने स्थायी समिति बैठकबाट निर्णय लिनुपर्ने धारणा राखेका थिए।
नेपालले पार्टी विधानको धारा ३८ (३) र मापदण्डको राज्यको कार्यकारी निकायमा रहेका व्यक्तिको दोहोरो जिम्मेवारीमा असहमति जनाएका थिए। ‘माधव कमरेडको विषयमै असहमति छ भने प्रवक्ता कमरेड (श्रेष्ठ)को निर्णय प्रक्रियामा असहमति देखिन्छ,’ एक सचिवालय सदस्यले भने, ‘यी निर्णयलाई स्थायी समितिले चाहेमा परिवर्तन गर्न पनि सक्छ।’















प्रतिक्रिया