
काठमाडौं । नेपाली लोक दोहोरीको क्षेत्रमा चरित्र अभिनेताका रुपमा चिनिने प्रकाश सपूतले कुनैबेला भनेका थिए, ‘मलाई अक्षरहरु मनपर्छ । अक्षरहरुसँग यात्रा गर्न एकदमै रमाइलो लाग्छ ।’ उनको अक्षरसँगको प्रेम झल्काउने एउटा स्पष्ट उत्तर हो– झोलामा यसैवर्ष मदन पुरस्कार विजेता पुस्तक योगमाया हुनु । गायक तथा सर्जक सपूत फुर्सदको समयमा आफूसँग भएको किताब निकाल्छन् र तिनै अक्षरहरुसँग लुकामारी खेल्छन् ।
अक्षरहरुसँग रमाउने सपूतले कसरी माइक समाएर गीत गाउन थाले त ? दैनिक नेपालको प्रश्नमा उनी भन्छन्, ‘मैले पाँच-छ कक्षा पढ्दा नै स्कुलमा हुने कार्यक्रमहरुमा गीत गाउँथे । गाउँघरमा हुने दशैंतिहारका कार्यक्रममा गीत गाउन छुटाइनँ ।’ एसएलसी सकेलगत्तै उनी रेडियोमा एक सफल आजे बने । धौलागिरी एफएममा दुई वर्ष काम गर्दा उनमा सबैले चिनुन् भन्ने भूत सवार भइसकेको थियो । उनी भन्छन्, ‘ ममा एउटा सेलिब्रेटी बन्ने सपना थियो । सबैले चिन्नुपर्छ भन्ने भान हुन्थ्यो । मेरा पनि फ्यान फलोइङ होउन् । अगाडी पछाडी कोही होउन् भन्ने लाग्थ्यो । अहिले त हिरोइज्मको सपना हटिसकेको छ ।’
बाल्यकालतर्फ फर्केर हेर्दा
ठूलो परिवार भएकाले उनीहरु आर्थिक मामिलामा त्यति सबल थिएनन् । बाल्यकालतर्फ फर्कँदै उनी भन्छन्, ‘ म जन्मँदा बुबाहरु छुट्टिइसक्नुभएको थियो । अर्को घर बनेको थिएन । छुट्टिएपछि हामी गोठमा बस्यौं ।’ प्रकाशसँग बाल्यकालको एउटा तितो अनुभव छ- गोठको आधा भागमा भैंसी बाँधेको र आधा भागमा आफ्नो परिवारको सकसपूर्ण जिन्दगी गुजारिएको ।
उनीहरु बढ्दै गए । आवश्यकता पनि झनझन् बढ्दै जान थाल्यो । तर, घरको आर्थिक हविगत उही । बालाई कमाउन पर्ने बाध्यता थियो । आर्थिक अवस्था सुधार्न उनका बुबाले जीवनको लामो समय विदेशी भूमिमा बिताए । पैसा कमाउन उनका बुबाले कहिले भारत, कहिले मलेसिया त कहिले साउदी अरबको तातो गर्मीसँग सपना साटे ।
आफू हुर्केपछि बुबालाई आराम दिने जिम्मा उनमा आइलागेको थियो । पुराना दिन सम्झँदै उनी भन्छन, ‘ मैले एसएलसी सक्ने बित्तिकै कतै न कतै गएर पैसा कमाउनुपर्ने अवस्था थियो र सँगसँगै मेरा सपनाहरु पनि पूरा गर्नुपर्ने बाध्यता थियो । दु:खका दिनहरु स्मरण गर्दै उनी सुनाउँछन्, ‘होटल, फर्निचर र एनजिओमा समेत काम गरेँ । परिवारको आर्थिक अवस्था उकास्न दोहोरी साँझमा पनि काम गरेँ । धेरै ठाउँमा निकै दुखसँग काम गरेँ ।’
काठमाडौं सपना
उनको संघर्षको सुरुआत बागलुङबाटै भएको थियो । जिल्लामै उनले स्टेज कार्यक्रममा राम्रो प्रस्तुती दिन थालिसकेका थिए । धौलागिरी एफएममा उनले दुई वर्ष रेडियो कार्यक्रम चलाए । उनी स्वरमा पनि माझिइसकेका थिए । उता उनको कार्यक्रम पनि लोकप्रिय हुँदै गएका थिए । स्रोतामाझ उनी परिचित हुन थाले । उनलाई रेडियोबाट धेरैले चिनिसकेका थिए ।
०६८ सालतिर उनी सरसापटको पाँच-सात हजार गोजीमा बोकेर काठमाडौं हान्निए । काठमाडौं आउनुमा उनको ठूलो सपना केही थिएन । गायक तथा कलाकार बन्छु भन्ने त सोचेकै थिएनन् उनले । काठमाडौं सपनाबारे उनी यसरी खुले, ‘जेठो छोरा भएका कारण ममा घर चलाउने प्रेसर बढेको थियो । केही गर्नुपर्छ भन्ने सपना बोकेर म राजधानी आएको थिएँ ।’
धेरै अवसर भएका कारण काठमाडौं आएको उनी बताउँछन् । दोहोरी साँझ र रेडियोमा काम गर्ने कुरा भएपछि उनले जन्मभूमी छाडेका थिए ।
उनलाई विदेश गएर काम गर्न पटक्कै मन थिएन र छैन । उनी नेपालमा नै बसेर केही गर्न चाहन्छन् । उनी भन्छन्, ‘विदेश नै गएर काम गर्नुभन्दा पनि म नेपालमै बसेर काम गर्न चाहन्थेँ/चाहान्छु ।’
नेपाल बस्नुनै आफ्नो लागि संघर्ष भएको उनको धारणा छ ।
युवापुस्तालाई दोहोरीसँग कनेक्ट गराउन चाहन्छु
लोकदोहोरी भनेपछि नाक खुम्च्याउने एउटा पुस्ता अझै पनि छ । तर, प्रकाशको लक्ष्य भनेकै तिनै नाक खुम्च्याउनेहरुलाई लोकदोहोरीसँग जोड्नु हो । लोक गीतलाई र्यापमा ढालेर नेपाली लोक संगीतमा विकृति ल्याउनुभयो भन्ने प्रश्नमा उनको जवाफ यस्तो छ, ‘र्याप गीत मैले नेपालमा भित्र्याएको होइन । तर, लोकगीतलाई यो जेनेरेशनसँग कसरी जोड्ने भन्ने मेरो पहिलो लक्ष्य हो ।’
दोहोरी एउटा समुदाय वा एउटा सिमीत क्षेत्रमा मात्र सुनिने गरेको आभाष उनलाई भयो । र, निकाले र्याप ब्याटल ।
दोहोरीमा पनि सवाल जवाफ हुने र अझ यसमा मेलोडी पनि हुने भएकाले युवापुस्ता यसमा तानिन सक्ने हेतुले लोकगीतमा उनले नयाँ प्रयोग गरे । अहिले गाउँगाउँमा भिटेन र लाहुरेको र्याप सुन्दा लोकमा आधारित र्याप सुन्न किन नहुने भन्ने उनको तर्क छ ।
उनका अनुसार जेनेरेशन चेन्ज हुँदा समयको धार चेन्च भयो । त्यो धार चेन्ज हुँदा हाम्रो लोकगीत पछाडी छुट्यो । त्यो छुटेको धारलाई हाम्रो पुस्तालाई कसरी जोड्ने भन्नेबारे उनी सोच्थे बेलाबेला । ब्याटलमा उनले अहिलेकै युवा पुस्तालाई उनीहरुकै टेस्टमा जोडे । दोहोरी ब्याटल नेपालमा पहिलोपटक भएकोले मानिसहरुलाई नयाँ लाग्यो । नयाँ कुरा सबैलाई नपचेका कारण कतैकतै विरोध भएको उनको ठम्याइ छ ।
गीतमा कथा
नेपाली लोक गीतहरुमा पछाडी दस-पन्ध्र जनाको झुण्डलाई कम्मर मर्काउन लगाउने र अगाडी दुई मोडलहरुले हाउभाउसहित नृत्य प्रस्तुत गर्ने चलन पुरानै हो । यसले अझै बिट मार्न सकेको छैन । प्रकाश सपूतले पनि सुरुका केही गीतमा त्यस्तै गरे । उनलाई बजारमा चिनिने ध्याउन्न थियो । बजारमा चिनिन र स्टेज कार्यक्रमको लोभमा उनले सुरुका केही गीत पुरानै ढर्रामा निकाले । उनले पनि भिडियोमा टन्नैलाई देखाए । तर, उनी यो शैलीलाई पूर्णरुपमा पछ्याउनेवाला थिएनन् । अनि उनले गीतमा कथा खोज्न थाले । उनी रेडियोमै छँदा सामाजिक मुद्दालाई आधार बनाएर रेडियो कार्यक्रम गर्थे । नाटकहरु बनाउँथे । समाजका कथा बोल्ने गरी, युवाहरुको कथालाई नजिकबाट प्रस्तुत गर्थे ।
उनलाई हिरो बनाएको गीत बोल मायामा पनि समाजको मात्र नभई उनको आफ्नै कथा बोलेको छ ।
हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनचार वटा परिवारको सपना टुट्छ । जीवनसंगीनीको सिन्दुर पुछिन्छ । भर्खरै बाबा भन्न थालेका छोराछोरीको ओठ सुक्छ । डाँडापारीका घाम जस्ता भएका बाआमाको सपना पनि अस्ताउँछ । परिवारको भित्री रोदन बाहिरसम्मै पोखिन्छ ।
समाजको यो दर्दनाक अवस्थालाई उनले बोल मायामार्फत चित्रण गरेका छन् ।
बोल माया एकपटक बोल
तिम्रै बोली छ मलाई अनमोल
यो गीत सुनेर आँखा नरसाएका सायदै कोही होलान् । अझ विदेशमा रगत र पसिना बेचिरहेका छोराछोरीका बाआमाले मन थाम्नै सकेनन् । आश गरिएको मानिसबाट एकाएक निराशाको सामना गर्नुपर्दाको कथा यसमा देखाइएको छ । यो गीतमा उनी आफैं कफिनभित्र सुतेका छन् । आफ्नै गाउँमा आफ्नै आँगनमा गीतलाई उतारेका छन् । गीत र भिडियोले वास्तविक कथा भन्न सकोस् भनेर प्रकाशले जीवन्त अभिनय गरेका छन् । भिडियोमा उनलाई मोडल अञ्जली अधिकारीले साथ दिएकी छन् ।
यो गीत यति मन पराइयो कि देशका हरेक कुनाकाप्चामा यसको धुन बज्यो । हरेक खोलाले बोल मायासँग धुन मिलाए । वनपाखा सबैतिर गुञ्जियो ।
तीजमा पनि प्रकाशले नौगेडी सपना भन्ने बोलको गीत ल्याए । त्यसमा पनि समाजको नै कथा भने । उनले गीतबाटै आमा र बच्चाहरुको सपनालाई निकै उत्कृष्ट ढंगबाट देखाए । यसैले पनि प्रकाशलाई चरित्र अभिनेता भन्दा गलत ठहरिँदैन ।
अन्तरजातीय विवाहको सफल अवतरण
उनी प्रकाश सपूतले चिनिए पनि वास्तविक नाम प्रकाश विक हो । कक्षा आठ नौ पढ्दा उनी गजल लेख्थे । साहित्यिक नाम केही न केही राख्ने चलन थियो त्यतिबेला । उनले पनि हुटहुटीमा नामपछाडी ‘सपूत’ राखे । अहिले उनी प्रकाश सपूतको नामले चिन्छन् । वास्तविक नाम कमैलाई मात्र थाहा छ ।
बागलुङ बस्दा उनले कम्प्युटर सिक्ने/सिकाउने काम दुवै गरे । संयोग के परिदियो भने उनी कम्प्युटर क्लास आउने र उनकी पत्नी बिन्दु बोहरा कलेज जाने बाटो एउटै पर्थ्यो । प्रकाशको एउटा साथी र उनी एउटै कक्षाका भएका कारण देखभेट सहज भइदियो । तर, दुई वर्षसम्म प्रकाशको प्रेम उनले स्वीकारिनन् । प्रेमको टुसा उम्रिने छाँट देखिएन । प्रेमका पुराना दिन सम्झँदै उनी भन्छन्, ‘जब मैले रेडियोमा प्रोग्राम चलाउन थालेँ । उनले मेरा प्रस्तुतीहरु सुनिन् । मेराबारे जान्ने मौका पाइन् । त्यसपछि मात्र उनी मसँग आकर्षित भइन् ।’
र, उनीहरुबीचको प्रेम झाङ्गिन पायो ।
प्रकाश घरको जेठो छोरा भएकाले उनी बढी उत्तरदायी थिए । आफ्नो निर्णय लिन प्रकाश स्वतन्त्र थिए । तर, बिन्दु बोहरा अर्थात् क्षेत्री थिइन् । बिन्दुले उता पनि घर ह्याण्डल गरिरहेको अवस्थामा थियो । बिन्दुको परिवारमा भने चर्को विवाह चर्को दबाब परेको प्रकाश बताउँछन् ।
उनीहरुका बुबाहरु भेटेर समाजमा हत्तपत्त नस्वीकारिने विवाहबाट टाढै रहन खोजेका थिए । तर, उनीहरुले कन्भिन्स गराएरै छाडे । र, बिन्दु बोहरा र प्रकाश सपूतको बिहे भयो ।
प्रकाशका अनुसार आफू इंडिपेन्डेन्ट छ भने आफ्नो निर्णय आफैंले लिन सक्छन् । उनीहरुको हकमा पनि त्यही भइदियो । तर, परिवारको राय नलिएका भने होइनन् ।
उनीहरुले अन्तरजातीय विवाहको विमानलाई सफल अवतरण गरे ।
ड्रिम प्रोजेक्ट– जातीय गीत गाउने
प्रकाशले नेपाली संगीतका लागि अहिलेसम्म जे जति गरे त्यसमा उनी खुशी नै छन् । उनी समाजका घटनालाई टपक्क टिपेर गीतमा उतार्छन् । समाजको कथा गीतका शब्दहरुमार्फत पोख्छन् । तरपनि उनलाई चित्त बुझेको छैन । कानूनी रुपमा जातीय भेदभाव अन्त्य भएपनि समाजमा भने पूर्णरुपमा हट्न सकेको छैन । उनलाई जातीय भेदभाव वा मुद्दाका विषयमा एउटा कथासहितको गीत निकाल्न मन छ । यो उनको ड्रिम प्रोजेक्ट हो । यसै ड्रिम प्रोजेक्टबारे उनी सुनाउँछन्, ‘म दलित समुदायबाट आएको मान्छे । मैले डिस्क्रिमिनेसनको बारेमा एउटा बलियो कन्टेन्ट दिन किन सकिनँ भन्ने लाग्छ । यदि मैले कुनै फिल्म वा गीत गरेँ भने यसै विषयमा आधारित हुनेछ । त्यो गर्ने नै छु ।’















प्रतिक्रिया