न्युयोर्क, २६ असोज । फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले बलात्कारको आरोप लगाएको सम्बन्धी खबर सबैभन्दा पहिले छापेको जर्मन साप्ताहिक म्यागजिन आफ्नो खबरमा अडिग रहेको छ ।
रोनाल्डोका वकिलले बुधबार म्यागजिनमा प्रस्तुत गरिएका कागजातहरु झुट रहेको तथा मुख्य प्रमाणहरुलाई बंग्याइएको बताएका थिए । त्यसको जवाफमा जर्मन म्यागजिन डेर स्पिगलले सबै कागजात पूर्ण रुपले आधिकारिक रहेको दाबी गरेको हो ।
३३ वर्षका रोनाल्डोमाथि ३४ वर्षकी अमेरिकी महिला क्याथरिन मायोर्गाले बलात्कारको आरोप लगाएकी हुन् । सन् २००९ मा लस भेगासको होटल रुममा आफूमाथि रोनाल्डोले दुर्व्यवहार गरेको उनको आरोप छ । यो आरोप रोनाल्डोले स्पष्ट रुपमा अस्वीकार गरेका छन् ।
पत्रिकाले झुटा प्रमाणको भरमा खबर छापेको आरोप रोनाल्डोका वकिलले लगाएको भोलिल्ट पत्रिकाले आफूहरुसँग विभिन्न माध्यमबाट प्राप्त भएका सयौँ कागजात रहेको दाबी गरेको हो ।
डेर स्पिगलले आफूहरुले छापेको खबरमा अडिग रहेको र प्राप्त प्रमाणहरु सही नरहेको भन्ने विश्वास गर्ने कारणहरु नपाइएको उल्लेख गरेको छ । हरेक खबर छाप्नुअघि फ्याक्ट चेक गरिएको कानुनी परामर्श पनि लिइएको स्पिगलले जनाएको छ ।
यसअघि जर्मनीको पत्रिका डेर स्पिगलमा आरोप सम्बन्धी खबर सबैभन्दा पहिले छापिएपछि रोनाल्डोले ‘फेक न्युज’ भन्दै अस्वीकार गरेका थिए । रोनाल्डोका प्रतिनिधिले साप्ताहिक म्यागजिन विरुद्ध कानुनी उपचारको बाटो प्रयोग गर्ने पनि बताएका थिए ।
रोनाल्डोका वकिल क्रिष्टिएन्सनले आरोप सम्बन्धी खबर प्रकाशित गर्ने सञ्चार माध्यम निकै गैरजिम्मेवार रहेको उल्लेख गरेका छन् । चोरी गरिएको र सजिलै म्यानुपुलेट गर्न मिल्ने डिजिटल कागजातको भरमा आरोप लगाएको उनले बताएका छन् । यस्तै कागजातको महत्वपूर्ण भाग पूर्णरुपले परिवर्तन गरेर झुट बनाइएको रोनाल्डोका वकिलले बताएका छन् । एजेन्सी















प्रतिक्रिया