शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

आइसिसी टि–ट्वान्टी : नेपालको लगातार पाँचौँ जित, चीन १० विकेटले पराजित

दैनिक नेपाल २०७५ असोज २४ गते ११:०१


काठमाडौँ, २४ असोज । आइसिसी टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले लगातार पाचौं जित हात पारेको छ ।

चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १० विकेटले जितेको हो । नेपालका लागि ओपनर विनोद भण्डारीले ८ बलमा २४ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, प्रदीप ऐरी ४ रनमा अविजित रहे ।

यसअघि मलेसियाको मायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले नेपालसामु ठूलो स्कोर बनाउन सकेन । चीनले १३ ओभरमा सबै विकेटको क्षतिमा २६ रन मात्रै बनाएपछि नेपालले २७ रनको चुनौति पाएको हो ।

चीनका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । चीनका ३ जना खेलाडीले मात्रै रन बनाउन सके । चीनका लागि होङ जियाङ यानले ११ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिए । डेङजी माले ५ र चेन जिनफेङले १ रन बनाए । चीनका ७ जना खेलाडी शुन्य रनमै आउट भए ।

चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए । लगतार ५ खेलमा शानदार जित हात पारेको नेपालले १० अंक बनाएको छ ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल र सिंगापुरले दोस्रो चरणमा स्थान पक्का गर्दा अब बाँकी एक स्थानका लागि मलेसिया र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। मलेसिया र थाइल्यान्ड दुवैले ५–५ खेल खेलेर ५–५ अंक नै जोडेका छन्। मलेसियाले चीनसँग र थाइल्यान्डले म्यानमारसँग खेल्न बाँकी छ। कमजोर प्रदर्शन गरेका चीन, भुटान र म्यानमार भने पहिलो चरणबाटै बाहिरिसकेका छन्।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट भएका नेपाल, सिंगापुर र १ टिम (थाइल्यान्ड वा मलेसिया) बीच प्रतिस्पर्धा हुनेछ। ६ टिम बीचको दोस्रो चरणको प्रतिस्पर्धाबाट २ टिम अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुने र तीमध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित