४ कार्तिक २०८३, बुधबार

आइसिसी विश्वकप छनोटमा नेपालको लगातार चौथो जित, भुटान १ सय १७ रनले पराजित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असोज । आइसिसी विश्वकप टी–२० क्रिकेट छनोट अन्तर्गतको एशिया क्षेत्र बीको चौथो खेलमा नेपालले भुटानमाथि शानदार जित हात पारेको छ ।

लगातार चौथो जित निकाल्ने क्रममा मलेसियाको यूकेएम ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराउँदा दोस्रो खेलमा मलेसियालाई पनि ८ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा अलआउट हुँदै ३३ रनमै समेटियो । भुटानका तेन्जिङ वाङचुक जुनियरले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका ललितनाराण राजवंशी र सन्दीप लामिछानेले समा ३/३ तथा बसन्त रेग्मीले २ विकेट लिए । ललितले चार ओभरको स्पेलमा २ ओभर मेडन राख्दै ४ रनमात्रै खर्चिदा सन्दीपले पनि ४ ओभरको स्पेलमा २ ओभर मेडन फाल्दै ६ रनमौ दिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ओपनर प्रदीप ऐरीको ७५ रनको पारीमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । ६८ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

यस्तै अनिलकुमार साहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ सेखले १३ तथा करण केसीले ११ रन जोडेका थिए ।  असोज २६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन् ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शीर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, साहब अलाम, दीपेश श्रेष्ठ र सागर पुन छन् ।