
काठमाडौं । सय बर्ष पार गरे पनि राष्ट्रकवि माधवप्रसाद घिमिरे यौवनातिर फर्किन किञ्चित धक मान्दैनन् । उनका आवाजमा कम्पन् छन् तर स्मृति तेज छ ।
एउटा युग पार गरेका घिमिरेले गीतसँगै आफ्ना जीवनका केही पुराना संस्मरण खोलेका छन् । ६ वर्षको हुँदा अक्षर चिनेका, ८–९ वर्षको हुँदा पण्डितसँग पञ्चांग अध्ययन गरेका उनी ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशालामा पुगे । त्यसपछि काठमाडौंको रानीपोखरीमा रहेको तीनधारा संस्कृत पाठशाला हुँदै बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री पनि गरे ।
जीवनका सय बर्षमा उनका करोडौं अनुभव छन् । अक्षरसँग निरन्तर डुबुल्की मार्ने राष्ट्रकविले धेरै कालजयी गीत लेखेका छन् ।
उनी बाल्यावस्थादेखि निरन्तर नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्ध जस्ता अनेकौं विधा–उपविधाहरू लेख्ने जीवित इतिहास हुन् । उनले लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समबाट प्रभावित भएर कविता लेख्न थालेको पनि सुनाए ।
गीत लेखनका आधारहरू थाहा थिएनन् उनलाई । कविता लेख्दै जान्थे, त्यही गीत बनिदिन्थ्यो । ‘मैले पहिलोपटक लेखेको झमझम पानी प¥यो असारको रात’ बोलको गीत हो,’ उनी जीवनकै पहिलो गीत लेखनको अनुभव सुनाउँछन्,‘त्यतिबेला मलाई गीत लेख्दा स्थायी र अन्तरा के हो भन्ने नै थाहा थिए । मनमा जे आउँथ्यो, त्यसलाई लेखिदिन्थें ।’
संगीतकार मास्टर रत्नदास प्रकाशले उनकोे गीत हेरेपछि सुरुवात, स्थायीबाट गर्ने र त्यसपछि अन्तरा लेख्ने विषयमा घिमिरेलाई सिकाएका थिए ।
उनका धेरै गीत लेखनका पछाडी कथा छन् । तर त्यो मध्येको एउटा गीत जुन पत्नीले ‘आफैं मरेको’ सपना सुनाएपछि लेखे त्यसको कथा उनी सुनाउँछन् ।
आज र राति के देखें सपना
मै मरी गएको, मै मरी गएको
२०१८ सालतिर लौनचौरमा बस्न भरखरै आएका थिए उनी । एकरात पत्नी महाकाली निन्द्रामा निकै तर्सिइन् । वास्ता गरेनन् उनले । बिहान चिया लिएर आउँदा उनको मुख साह्रै निन्याउरो देखे । के भयो भनेर सोधे । ‘उनले आफैं मरेको सपना देखें । नरमाइलो लागेको छ भनिन्’, स्मृतिमा फर्किए राष्ट्रकवि ।
उनी थप्छन्, ‘केही हुँदैन, जाऊ भनेर मैले इशारा गरें । बुढोलाई कविता फुर्न लाग्यो क्यार भनेर उनी चुपचाप बैठकबाट निक्लिइन् । मान्छेले जीवनमा मृत्युलाई महसुस गर्न प्रत्यक्ष रूपमा सक्दैन । तर, सपनाबाट उसले मृत्यु महसुस गर्न सक्छ । पत्नीले देखेको त्यो सपनालाई मैले आफूमा घटेको महसुस गरें अनि यस्तो एक लाइन गीत फुरिहाल्यो ।’
यसपछि अन्तरा फुरेको थिएन उनलाई । कौसीमा निस्किए । त्यहाँ पारिजातको फूलहरू भुइँमा झरेका थिए । हाँगा छाडेर भुइँमा झरेको देखेर दोस्रो हरफ ‘बतास दिनु हाँगाको फूल भुइँ झरी गएको हो, भुइँ झरी गएको’ जोडेका थिए ।
उनी थप व्याख्या गर्छन्, ‘यसरी यो गीतले मृत्यु जस्तो ध्रुवसत्यलाई दर्साएको छ भने अर्कोतर्फ फूल पनि समय पुगेपछि हाँगा छाडेर झर्नुपर्छ भन्ने प्राकृतिक निमयलाई प्रस्ट्याएको छ ।’
त्यतिबेला उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा परिषद् सदस्य थिए । संगीतकार अम्बर गुरुङ पनि प्रज्ञा प्रतिष्ठानमै थिए । उनी जोड्छन्, ‘मैले गीत तयार गरेर उहाँलाई देखाएँ । गीत साह्रै राम्रो बनेको रहेछ भनेर उहाँले संगीत भर्न सुरु गर्नुभयो । केही दिनमा उहाँले संगीत भरेर गीत तयार गर्नुभयो ।
त्यसपछि यो गीत नारायण गोपाललाई गाउन दिने निर्णय भयो । केही दिनको अभ्यासपछि मलाई नारायण गोपालले एक दिन घरमा बोलाएर यो गीत सुनाउनुभयो । गीतको स्थायी मलाई मन प¥यो । तर, पहिलो अन्तरको यो हरफमा मलाई उहाँको प्रस्तुति त्यति चित्त बुझेनँ ।’
(राजधानी दैनिकबाट)















प्रतिक्रिया