
काठमाडौं, २० असोज । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत समूह बी रहेको मा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।
क्वालालम्पुरस्थित वायुमास ओभलमा मलेसियाले दिएको १ सय १ रनको लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । उनले अविजित ५२ रन जोडे । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २७ रन जोडे ।
यस्तै ओपनर विनोद भण्डारी १२ रनमा आउट हुँदा अर्का ओपनर अनिल कुमार साह मात्र १ रनमा पेभेलियन फर्किए । मलेसियाका पवनदिप सिंह र सायज्रुल इद्रुसले एक एक विकेट लिए ।
यसअघी टस जितेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै १०० रन बनाएको थियो । नेपालका युवा बलर सन्दीप लामिछाने चम्किएपछि मलेसिया सस्तैमा समेटिएको थियो । मलेसियाका लागि सफिक सरिफले ४९ रन जोड्दा सायद अजिजले १३ रन जोडे । अन्य मलेसियन ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।
मलेसियालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीपले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ विकेट लिदा कप्तान पारस खड्काले एक विकेट लिए ।
पहिलो खेलमा नेपालले कमजोर टिम म्यानमारलाई ८ विकेटले हराएको थियो । अब नेपालले तेस्रो खेलमा थाइल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।















प्रतिक्रिया