
काठमाडौं, १९ असोज । नेपाल पत्रकार महासंघ, मिडिया कन्टेन्ट समितिले ‘सूचनाको हक र खेलकुद पत्रकारिता’ विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
महासंघमा आयोजित कार्यक्रममा सूचना आयोगकी आयुक्त यशोदादेवी तिम्सिनाले राज्यले खेलकुद क्षेत्रमा ठूलो लगानी गरेकोले त्यससँग सम्बन्धित सूचना माग्न पत्रकारलाई आग्रह गरिन् ।
उनले जनता सचेत भए भने कठालो समातेर सूचना लिनसक्ने हुनाले जनतालाई सुसूचित गराउन पत्रकारलाई आग्रह गरिन् । कार्यक्रममा महासंघका महासचिव रमेश विष्टले कार्यान्वयको हिसाबले जनतालाई सबैभन्दा बढी अधिकार दिएको कानुन भनेकै सूचनाको हक सम्बन्धी कानुन रहेको बताए ।
उनले सूचना नदिँदैमा डराउने अवस्था नरहेको भन्दै सूचना आयोगको दयारा बढाउनुपर्ने धारणा राखे । वरिष्ठ खेलकुद पत्रकार सीताराम अग्रहरीले नेपालको खेलकुद क्षेत्रको विकासमा खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपालको खेलकुद क्षेत्रमा रहेका बेथितिलाई अन्त्य गर्न पत्रकाहरु चनाखो हुनुपर्ने धारणा राखे ।
कार्यक्रमका संयोजक एवं महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले सूचनाको हकको प्रयोगले खेलकुद पत्रकारिता क्षेत्रमा पारेको प्रभावका बारेमा समिक्षा तथा सुझावका लागि कार्यक्रम आयोजना गरिएको बताए ।












प्रतिक्रिया