
काठमाडौँ, १९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्ता अहिले जारी छ ।
१२ दिने अमेरिका भ्रमणपछि बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री समेत रहेका ओली तथा पत्नी सीताको उपचार गरेर बुधबार सिंगापुरबाट फर्किएका प्रचण्डबीच भेटवार्ता भएको हो । दुई अध्यक्षका बीचमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बालुवाटारमा भेला भएको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार २/३ दिनभित्रै नेकपाको स्थायी समिति बैठक बोलाउने अध्यक्षहरूको तयारी छ । त्यसअघि सचिवालय बैठक बस्ने नेकपाको तयारी छ ।
भेटमा पार्टी एकता, नेकपा वरिष्ठ नेता माधव नेपालको असन्तुष्टि र सरकारको काम कारवाही लगायतका विषयमा छलफल भएको छ । ओली र प्रचण्ड स्वदेशमा नभएका बेला बरिष्ठ नेता नेपालले संसदमा सरकारप्रति असन्तुष्टि प्रकट गरेका थिए । स्थायी समितिका सदस्यहरुको भेला गरेर पार्टी नेतृत्वप्रति असन्तुष्टि समेत पोखेका थिए ।
उनको असन्तुष्टि ५ असोजको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयप्रति थियो । बैठकले प्रदेश नेतृत्वको चयन गरेको थियो । ५ असोजको बैठक घानामा रहेका नेता नेपाल र चीनमा रहेका पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा भएको थियो ।
वरिष्ठ नेता नेपालले गएको असोज १२ गते स्थायी समितिका सदस्यहरूलाई चियापानमा बोलाएर पार्टी सचिवालयले गरेको प्रदेश कमिटीको नेतृत्व सिफारिस मान्य नहुने भन्दै तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए ।
शीर्ष नेताहरुबीच देखिएको असन्तुष्टि दोस्रो तहका नेताहरुमा देखिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत उनीहरुले असन्तुष्टि र घोचपेच गरिरहेका छन् । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच केन्द्रमा एकता भएपनि तल्ला तह र जनवर्गीय संगठनका एकताको काम टुंगिएको छैन ।















प्रतिक्रिया