
काठमाडौं, १८ असोज । नेपाल दूरसञ्चार कम्पनीले खोलेको ‘बिग्रिएका ब्याट्री’ लिलामका लागि आह्वान गरेको टेन्डर विवादमा तानिएको छ ।
कम्पनीले आफैले निर्धारण गरेको मापदण्ड मिचेर करोडौं रुपैयाँको एउटा टेन्डर दिने तयारी भएको भन्दै कम्पनीका प्रमुखसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको कार्यालय, उद्योग मन्त्रालय, वातावरण मन्त्रालयमा उजुुरी परेपछि प्रक्रिया नै विवादमा तानिएको हो ।
आन्तरिक मिलोमतोका आधारमा टेन्डर दिने तयारी भएपछि परेको उजुरीका कारण प्रक्रिया अवरुद्ध हुने भएको छ । १४ भदौमा कम्पनीले पुराना र बिग्रिएका ब्याट्री बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो ।
‘केही कर्मचारी र व्यक्तिको आन्तरिक स्वार्थका कारणले टेन्डरका मापदण्ड, सर्तहरू परिवर्तन गरिएका छन् र टेन्डर प्रक्रियामा हात हालेका व्याट्री सम्बन्धी काम गर्ने कम्पनीले नेपाल सरकारको मापदन्ड पुरा गरेको छैन’, उजुरीमा उल्लेख छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयले पुरा नहुने सर्त राखेको बताइन्छ । र, जुन कम्पनीलाई टेन्डर दिने तयारी गरिएको छ उसले पनि यो मापदण्ड पुरा नगरेको उजुरीकर्ताको दाबी छ ।
टेन्डर प्रक्रियामा २३ कम्पनी लागे पनि सर्तका कारण ९ कम्पनीले मात्र आवदेन दिए । एउटा आवेदन खाली रहेको र स्पर्धामा ८ कम्पनी छन् ।
दूरसञ्चारले गोप्य बोलपत्र आह्वान गरेको थियो । तर, आन्तरिक मिलोमतोका कारण प्रक्रियामा सहभागी भएर मिलोमतो गराई भ्रष्टाचार गर्ने नियत भने अख्तियार र प्रधानमन्त्री कार्यालयसम्म पुगिसकेका कारण गोप्य नभएको स्रोतले बतायो ।
कम्पनीले आफंैले तोकेको मापदण्डविपरीत टेण्डर दिन खोजेपछि व्यावसायी गोपाल नेपालले टेण्डर प्रक्रियामा अनियमितता भएको भन्ने दाबी गर्दै प्रधानमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सूचना तथा सञ्चार मन्त्रालय, वायरलाइन तथा ग्राहक सेवा केन्द्रमा उजुरी दिएका हुन् । उजुरीमा टेण्डर प्रक्रिया विधिसम्मत गराउन माग गरेका छन् ।
उद्योग मन्त्रालयबाट रिसाइक्लिन सम्बन्धी काम गर्ने इजाजत नलिएका, वातावरण मन्त्रालयबाट कुनै पनि वातावरण सम्बन्धी कार्य गर्ने स्वीकृत नलिएका, रिसाइक्लिनसम्बन्धी पूर्वाधार नभएका, आन्तरिक राजस्वबाट इजाजत नलिएका कम्पनीहरुसमेत प्रतिस्पर्धामा रहेको दावी छ ।
दूरसञ्चारले टेन्डरका लागि पहिला मापदण्ड पुराउन नसकिने सर्त राख्ने र आवेदन दिएका नजिकका फर्मले पनि पुराउन नसकेपछि सर्त खुकुलो पार्ने काम गरिरहेको छ ।















प्रतिक्रिया