
काठमाडौं, १७ असाजे । अमृत अग्रवाल उर्फ नागराज ! इन्डियन प्रिमियर लिग (क्रिकेट)माथि जुुवा खेलाउने अन्तर्राष्ट्रिय डन ।
नेपालमा केही सम्पत्ति छन्, खेल भारतको गोवामा खेलाउने गर्दथे । र, उनलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउने तयारीमा छ । नागराजको अकुत सम्पत्ति बालुवाटार वरपर छ ।
अपराध महाशाखाले लामो समय गरेको अनुसन्धानमा नागराजले सानातिना होइन, सट्टेबाजीका खेलमा पैसा लगाउँछन् । गणित विषयको राम्रो ज्ञान भएका कारणले हिसाबकिताब गरेरै उनले सट्टेबाजीको धन्दा सुरू गरेको प्रहरीको ठम्याई छ । प्रहरीले पत्ता लगाएको छ की नागराज नेपाली फिल्म बनाउने तयारीमा पनि थिए । र, नाम राखिएको थियो– चरी जिउँदै छ !
‘त्रिभुवन विश्वविद्यालयमा ‘म्याथको टपर’ रहेछ । हिसाबकिताबमा सम्भाव्यताको खेल जान्दो रहेछ । त्यसैले कसले कसरी जित्छ भन्ने हिसाबकिताबका आधारमा सट्टेबाजी जुवा खेलाउने गरेको थियो’, महाशाखाका एक अधिकारी भन्छन्,‘अनुसन्धानका क्रममा राम्री युवतीहरूलाई फिल्म खेलाउने भनी अनुबन्धनको तयारी गरेको पनि पत्ता लगायौं । फिल्म पनि गुन्डा नाइके चरीको नाममा बनाउन लागेको रहेछ– चरी जिउँदै छ!’
१० असारमा नागराजलाई महाशाखाले पक्राउ गरेको थियो । उसमाथि चार महिनामा विभिन्न विषयका अनुसन्धान भइसकेका छन् । भारतीय प्रहरीको समेत मोस्ट वान्टेड सूचीमा रहेका थिए, उनी ।
प्रहरीले उनको साथबाट नगद ४ लाख ८० हजार रूपैयाँसहित ल्यापटप र अन्य कागजपत्रहरू समेत बरामद गरेको थियो ।
गोवाबाट नेपाल प्रवेश गरेको ४ दिनमा नै नागराजलाई पक्राउ गर्न महाशाखा सफल भएको थियो । विश्वकप फुटबल प्रतियोगिता चलिरहेका वेला भारतीय प्रहरीले सट्टेबाजहरूको खोजीलाई तीव्र बनाउँदा नागराज पक्राउ गरिएको थियो ।
महाशाखामा अग्रवालविरूद्ध आईपीएल क्रिकेटको सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुने भन्दै दुई करोड ४० लाख रूपैयाँ उठाएर फरार भएको उजुरी थियो । महाशाखा स्रोतका अनुसार त्यसरी ठगिनेहरू मध्ये कतिपयले आईएमई र कतिले अग्रवालको नेपालीस्थित एजेन्टमार्फत उनलाई रकम बुझाएका थिए ।
४४ वर्षीय अमृतको स्थायी ठेगाना धनुषाको जनकपुर नगरपालिका वडा नं. ३ हो । यसअघि उनी भारतीय नागरिक भएको आशंका गरिँदै आएको थियो । नागराजको गतिविधिलाई केही वर्षयता नियालिरहेका नेपाल प्रहरीका एक अधिकारीका अनुसार उनी १२ वर्षअघिसम्म सामान्य जुवाडे थिए ।
उनीहरूबाट सट्टेबाजी सिकेर नागराजले नेपालमा पनि बेटिङ धन्दा प्रवेश गराएका थिए । जसले अहिले गम्भीर रूप लिएको छ । हाल नेपालका चिकित्सक, व्यापारीदेखि लिएर चर्चित अभिनेतासम्म अनलाइन बेटिङमा संलग्न हुने गरेको अनुसन्धानबाट खुलेको थियो ।
नागराजको कुममा नागको तस्बिर छ । उसले आफुलाई जबरजस्ती डन बनाएको अभियोग पनि लगाउँदै आएको छ । गणितको अब्बल शिक्षक रहेको नागराजले सम्पत्ति कमाउने लोभममा जुवाधन्दाको सञ्जाल विस्तार गरेका थिए ।















प्रतिक्रिया