
-सञ्जय प्रधान
खरसाङ (दार्जिलिङ) । गीत–सङ्गीतको जिब्रो गीतकार हुन् भन्दा ठ्याक्कै मेल खान्छ । गीतकार नहुँदो हो त सङ्गीत कस्तो हुन्थ्यो होला ? एकपल्ट सबैले विचार गर्दा हुन्छ ।
नेपाली सङ्गीतको संसारमा गीतकारको मोल कति भयो, कति हुँदैछ, कति भइरहेको छ भन्ने बारेमा त गीतकारहरूले नै भन्लान् । तर ती गीतकारहरू जसका शब्द रचनाले सङ्गीतलाई जीवन्त बनाउँछन् उनीहरू पर्दापछि मौन रहँदै संघर्षमय सङ्गीतको जीवन यात्रामा निर्निमेष रूपमा हिँडिरहेका छन् । यो सर्ङ्षमय यात्रामा हिँड्दा हिड्दै उनीहरूले उनेका एक एक शब्दहरू गीत बनेर मानव समाजलाई मालास्वरूप प्राप्त भइरहेको छ ।
संगीनी नाचबाट जन्मिएको भव्य समारोहबीच आइतबार खरसाङ क्षेत्रको सिटोङ बस्तीबाट गीतकार एल.बी. थापाले नेपाली समाजलाई गीति सङ्गालो ‘हिँड्दा हिडदै’ पुस्तकको रूपमा बडा दशैंको कोसेली दिएका छन् । यस पुस्तकको विमोचन कार्यक्रम सिटोङ पारिजात संघद्वारा आयोजना गरिएको थियो ।
गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)का पूर्व सभासद् रतन थापालगायत अन्य अतिथिहरुले पुस्तक विमोचन गरे । पेशाले शिक्षक रहेका एल.बी. थापा दार्जिलिङ भेकका एकजना स्थापित गीतकार हुन् । यसभन्दा अघि गत वर्ष उनको गीति एल्बम ‘द जर्नी अफ् लाइफ’ विमोचन भएको थियो । गीतकार बाहेक उनी कवि साथै कथाकार पनि हुन् । उनको नयाँ कृति ‘हिँड्दा हिड्दै’मा एक सय चारवटा गीतहरू समावेश छन् ।
जसमा कति गीतहरू रोम्यान्टिक, कति संस्कार र संस्कृति बारेमा जनचेतनामूलक, कति सामाजिक, कति जनवादी खालका रहेका छन् । गीत साहित्यकै एउटा विधा भए पनि किन हो कताबाट यसमा धमिलो देखिन्छ । यस्तै किसिमका चर्चा गर्दै गीतकार एल.बी. राईको कृति ‘हिँड्दा हिड्दै’को बारेमा बोल्दै भारतीय नेपाली समाजका सुपरिचित गीतकार एवम् कवि कलम रेग्मी भन्छन्, ‘नेपाली साहित्यमा सबैभन्दा नस्याहारिएको विधा गीत हो अनि सधैं सबैले पछ्याइरहने पनि गीत नै हो । साहित्यको तमाम् विधाहरूमा गीत एउटा हो । रवीन्द्रनाथ टैगोरले गीतमा नै नोबेल पुरस्कार पाएको सय वर्ष नाघिसक्दा पनि नेपाली साहित्यमा गीतलाई अझ पछि पारिएको छ ।’
गीतकार थापाका गीतहरूमा मानव संवेदनाका विभिन्न पक्षहरूलाई समेटेर लयात्मक र गेयत्माक प्रस्तुती रहेको उनी बताउँछन् । रेग्मी अझ भन्छन, ‘उनका गीतहरूमा एकातिर प्रेमका सुरम्य पलहरू छन् भने अर्कोतिर विछोडका अल्झिरहने घाउहरू पनि छन् । एकातिर जातीको गौरवगान पाइन्छ भने अर्कोतिर जातीको आस्तित्विक लँडाइमा आफ्नैहरूले धोका दिएको कुरालाई व्यङ्ग्यस्वरूप गीतमा लेख्न पछि परेका छैनन् ।’
मुख्य अतिथि रतन थापाले भने, ‘मरेर लैजानु केही छैन । यो संसारमा जन्म लिएपछि आ–आफ्नो पक्षबाट समाजलाई केही न केही न दिएर जानुपर्छ । मानव समाजलाई केही न केही राम्रा कुराहरू दिनु नै सबैभन्दा ठूलो धर्म हो ।’ शिक्षण पेशाबाट शिक्षाको क्षेत्रमा योगदान दिँदै आएका गीतकार एल.बी. राई भन्छन्, ‘सङ्गीत र साहित्यको क्षेत्रमा केही गरूँ भन्ने उद्देश्य लिएर यो गीति सङ्गालो पुस्तकको रूपमा निकालिएको हो । कति दिन बाँचिन्छ र ! केही चिनो त छोड्नै पर्छ ।’















प्रतिक्रिया