
काठमाडौँ, १५ असोज । एसीसी यूथ एसिया कपको दोस्रो खेलमा नेपाल अफगानिस्तानसामु निरीह देखिएको छ। बंगलादेशमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपाली युवा टोली ३८.२ अोभरमा सवै विकेट गुमाएर १ सय ३१ रनमा समेटियो।
ब्याट्सम्यानहरुको खराब प्रदर्शनका कारण नेपालले मध्यम स्कोर समेत बनाउन सकेन्। नेपालका लागि राष्ट्रिय टोलीका सदस्य समेत रहेका रोहितकुमार पौडेलले ४६ बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन्।
पुछारका रसिद खानले अाक्रामक खेल्दै २५ बलमा ३० रन जोडे। यस्तै कप्तान मोहम्मद अासिफ सेख २० तथा अोपनर रीत गौतमले १० बाहेक अन्य खेलाडीले दोहोरो अंक नै जोड्न सकेनन्।
नेपालका चार खेलाडीले खाता नै खाेल्न सकेनन्। सन्दीप जोरा, पवन सर्राफ, कमलसिंह एेरी र सुर्य तामाङ शुन्य रनमै पवेलियन फर्किएका थिए।
अफगानिस्तानका अजमातुल्हाल अोमाराजीले ४ विकेट लिए। यस्तै क्यूज अहमद कामावल र अब्दुल रेहमानले समान २-२ विकेट लिए।
पहिलो खेलमा भारतसँग फराकिलो अन्तरले पराजित भएपछि नेपाललार्इ यस खेलमा अफगानिस्तानविरुद्ध जित्नैपर्ने दबाब थियो। यस खेलमा पराजय भएसँगै नेपाल समूह चरणबाट बाहिरिने लगभग पक्का हुनेछ।
जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) छन्। त्यस्तै समूह बी मा श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र हङकङ छन्।
नेपाली टोली मोहम्मद आसिफ शेख,कमल सिहं ऐरी, रोहितकुमार पौडेल, रवी शाह, सूर्य तामाङ, पवन शर्राफ, रवीन्द्रजङ्ग शाही, रासिद खान, भीम सार्की, तृतराज दास, सन्दिप जोरा, नन्दन यादव, रीत गौतम, सागर ढकाल र अरुण ऐरी छन्।
टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन्। सहायक प्रशिक्षकमा मनोज कटुवाल छन्। दुबै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्।















प्रतिक्रिया