५ कार्तिक २०८३, बिहिबार

लेखक तथा निर्देशक गगन विरहीको निधन

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कवि, फिल्म निर्माता, लेखक तथा निर्देशक गगन विरहीको कविता, गीत र मुक्तक सयुंक्त संग्रह ‘हस्ताक्षर’ सार्वजनिक भएको केही घन्टामै निधन भएको छ ।

पुस्तक विमोचन गर्दै गर्दा निमोनिया र मिर्गौलाको समस्याले सिकिस्त भएका विरही नर्भिक अस्पतालको बेडमा थिए । उनको यस संग्रहको विमोचन दुई हप्ताअघि नै गर्ने तयारी थियो ।

उनी बिहीबारदेखि सिकिस्त भएपछि आइतबार अस्पतालमै कृति सार्वजनिक गरिएको हो । पहिले नै आन्द्राको ट्रान्स्पप्लान्ट गर्नुपर्ने भनिएको र क्यान्सरको लक्षण देखिएका उनलाई ५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।

आइतबार कवि एवं संस्कृतविद् तुलसी दिवस, समालोचक अभि सुवेदी, शैलेन्द्र साकार, गीतकार दिनेश अधिकारी, गगन विरहीकी माता भवानी श्रेष्ठ, श्रीमती कल्याणी श्रेष्ठ तथा छोरी एलिना श्रेष्ठले संयुक्त रूपमा कृति विमोचन गरेका थिए ।

छोरी एलिना श्रेष्ठले बाहिरबाट आइसकेपछि ‘बाबुको इच्छा पूरा गरिनँ भने म बाँचेको सार हुने छैन’ भनेकाले हतार–हतार विमोचन गरिएको हो ।

कार्यक्रमा कृष्ण मल्ल, रवीन्द्र खड्का, आफन्तजन र अन्य सहित्यकार, कलाकार एवं पत्रकारको उपस्थिति थियो । उनका छोरा कृजन अस्ट्रेलियाबाट आउँदै गरेको परिवारले जनाएको छ ।

उनको यो पाँचौँ कृति हो । विरहीको कृति ‘हस्ताक्षर’ प्रकाशन संस्था शब्दपथले बजारमा ल्याएको हो । यसको मूल्य दुई सय रुपैयाँ छ ।