
हेटौंडा, १३ असोज । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्ग सतुंगल–मातातिर्थ–देउराली–कुलेखानी सडकको शनिबार अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलले सो सडक स्तरीकरणका लागि काम सुरु गराउनका लागि अनुगमन गरेका हुन् ।
प्रदेश सरकारले उक्त सडक निर्माणका लागि सर्वे पनि सुरु गरिसकेको छ । हेटौंडा–फाखेल–काठमाडौं सडक खण्डको फाखेलको महालक्ष्मी हुँदै चखेल देउराली हुँदै सो सडक काठमाडौंमा जोडिएको छ । हेटौंडा प्रदेश राजधानी भएसँगै सडक सञ्जाल विस्तार गर्न उक्त सडकको स्तरीकरण गर्न लागिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए । सो सडक भएको स्थानमा तरकारीहरु धेरै उत्पादन हुने भएकोले बजारीकरणमा पनि थप सजिलो हुने मुख्यमन्त्री पौडेलको भनाइ छ ।
यस सडकको सञ्जाल विस्तार भए पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने उनले बताए । हाल एक तर्फी रुपमा आवतजावत हुने कच्ची सडकलाई कालोपत्रे गरी २ लेनको बनाइने पनि मुख्यमन्त्री पौडेलले बताए । प्रदेश सरकारले सो सडकका लागि हाल ४ करोड विनियोजन गरेको छ भने स्तरीकरण सुरुभएसँगै बजेट रकम पनि थप हुने बताइएको छ । फाखेलको महालक्ष्मीदेखि कलंकी चोकसम्म उक्त सडकको दुरी २१ किलोमिटर रहेको छ । मकवानपुर र काठमाडौंको सिमानामा रहेको देउराली भन्ने स्थानबाट मनोरम दृष्यको अवलोकन समेत गर्न सकिने छ ।












प्रतिक्रिया