२१ कार्तिक २०८३, शनिबार

उपभोक्ता ठगी गर्नेलाई ‘अन द स्पट’ कारवाही गर्ने मकवानपुरका सिडिओ तामाङको चेतावनी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौँडा, ११ असोज । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले चाडपर्वको मौका छोपेर उपभोक्तालाई ठग्ने व्यवसायीहरुलाई ‘अन द स्पट’ कारवाही गर्ने चेतावनी दिएका छन् । न्युज क्लब नेपालको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा बोल्दै प्रजिअ तामाङले यस्तो चेतावनी दिएका हुन् ।

प्रदेश नम्बर ३ को राजधानी समेत रहेको हेटौँडा उपमहानगरपालिकाको बजार अत्यन्तै अव्यवस्थित रहेको भन्दै उनले उपभोक्तालाई ठगि गर्ने व्यवसायीलाई ‘अन द स्पट’ कारबाही गर्ने र बजार व्यवस्थापनमा पहल गर्ने बताए ।

मकवानपुरमा हुने गरेको अनुगमन समेत स्वार्थमा हुने गरेको आफूले जानकारी पाएको भन्दै प्रजिअ तामाङले आफूहरुले अब सानो टिम बनाएर सोमबारबाट गहन रुपमा अनुगमन गर्ने बताए ।

व्यवसायीहरुमा पनि केहि ‘अण्डर विलिङ’ को समस्या रहेको भन्दै उनले सबै क्षेत्रमा गम्भीर ढंगबाट अनुगमन हुने बताए । हेटौँडामा दर्ता नगरी धेरै व्यवसायहरु सञ्चालनमा रहेको भन्दै उनले अनुगमनको क्रममा यस्ता व्यवसायलाई तत्काल शिल गरेर कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिए ।

प्रजिअ तामाङले चाडपर्वको मौकामा यात्रुहरुसँग भाडादर भन्दा धेरै भाडा उठाए पनि कानुन बमोजिम कारवाही गर्ने बताए । आफूले वयवसायीहरुसँग यो विषयका कुरा भएको तर व्यवसायीहरुले चाडपर्वमा काठमाडौँ जाँदा खाली जानुपर्ने भन्दै अहिलेको भन्दा धेरै भाडा लिनुपर्ने बताएको भन्दै उनले आफूलाई यस्ता कुरा मान्य नहुने बताए ।

आफूहरुसँग ल्याव नहुदा समेत विभिन्न खाद्यन्नहरुको परीक्षणमा समस्या भएको, अण्डर विलिङको कारण कपडाको अनुगमनमा समस्या भएको भन्दै उनले सकेसम्म यस्ता विषयलाई पनि अनुगमनबाट केहि भएपनि समस्या समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले अनुगमनमा धेरै संख्यामा जाँदा समस्या भएको बताएका छन् । प्रशासन कार्यालयले सानो टिम बनाएर अनुगमन गरे सहज हुने समेत उनको भनाई रहेको थियो । व्यवसायीले म्याद नाघेको सामान बेच्ने व्यवसायीको पक्षमा उद्योग वाणिज्य संघ खडा नहुने भन्दै उनले यस्तो विषयमा आफूहरुले प्रशासनलाई सहयोग गर्ने बताए ।

चेम्वर अफ कमर्श मकवानपुरका अध्यक्ष विजय श्रेष्ठले अनुगमनलाई नियमित नभएर भिड जम्मा गर्ने काम भएको बताए । अनुगमनले मात्र हैन गल्ती गर्नेलाई जुन बेलापनि कारवाही गर्न प्रशासनलाई आग्रह गरे । अनुगमनको क्रममा प्रत्येक प्रशासकले आफ्नो नियम बनाउने काम गर्दापनि व्यवसायीलाई समस्या परेको भन्दै अनुगमनको निश्चित अवधारणा बनाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमगाईले चाडपर्वको समयमा खरको दैलोबाट उपभोक्ता ठगिन सुरु हुने भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए । प्रशासनले चाडपर्वको समयमा अनुगमनलाई विशेष ध्यान दिनुपर्ने समेत बताए । कार्यक्रम न्यूज क्लब नेपालका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको हो ।