४ कार्तिक २०८३, बुधबार

एसीड आक्रमण : सम्झनाको शव उठाउँदा सीमाले डाँको छाडिन्, बाबु भन्छन्– दोषीलाई फाँसी देऊ

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । एसीड आक्रमणबाट घाइते भई उपचारका क्रममा ७ असोजमा मृत्यु भएकी सम्झना दासका बुवा जादोलाल दासले दोषीलाई जेल होइन फाँसी हुनुपर्ने माग राखेका छन् ।

उनका दुई छोरीमाथि एसीड आक्रमण भएको थियो । छोरीको अन्तिम संस्कार गर्नुअघि जादोलालले दोषीलाई कडा सजायको माग गरेका हुन् । उनका १८ बर्षिया छोरीलाई छिमेकी भनिनेले यौन सम्बन्ध कायम गर्नका लागि दबाब दिएको र त्यसो नगर्दा एसीड प्रहार भएको जादोलालले बताएका छन् । उनी भन्छन्,‘कति रुनु के गर्नु । दोषीलाई १० बर्षको सजायले हुँदैन, उसलाई फाँसी नै हुनुपर्छ ।’

ज्यान गुमाएकी सम्झना

सम्झनाकी आमा निक्कै भावुक छिन् । उनका आँखा रसाउन छाडेका छैनन् । छोरी गुमाउनुको पीडालाई गहभरी राखेकी उनी बोल्न पनि मान्दिनन् । सम्झना र उनकी बहिनी सुस्मितामाथि घरमै सुतिरहेका बेला भदौ २६ गते एसीड प्रहार भएको थियो ।

‘एउटा होइन दुइटा छोरीमाथि यस्तो भयो । एउटीको किर्तिपुरमा उपचार भइरहेको छ । सम्झनाको त्यस्तो भयो’, भावुक मुद्रामा भन्छन्,‘त्यो ५०–५३ बर्षको मान्छे हो । फोन गर्ने । उसको डिमान्ड नमान्दा एसिड प्रहार गरिएको हो ।’

जादोलालले आफु नभएको मौका पारी उसले पटक–पटक फोन गर्ने र सम्बन्ध स्थापित गराउनका लागि दबाब दिएको बताएका छन् । त्यसो नगर्दा छोरीमाथि एसीड प्रहार भएको र उनले ज्यान गुमाएको बताए । ‘दुई दिनमा मोबाइलमा मात्र तीन सय भन्दा बढि कल आएको देखियो । यो सामान्य कल होइन’, जादोलाल भन्छन् ।

तीन बर्षअघि एसीड आक्रमणमा परेकी सीमा बस्नेत कडा कानुन नहुँदा यस्ता अपराध बढिरहेको बताउँछिन् । भावुक बनेकी सीमाले भनिन्,‘यो पीडा हामीलाई थाहा छ । सुनेलगत्तै बहिनीहरूलाई बचाउने कोशिश गरें । तर, सकिएन ।’ आफुले भोगेको पीडा सम्झेर सीमा डाँको छाडेर रोइन् । उनी थप्छिन्,‘त्यतिबेला नै सरकारले कडा कानुन बनाएको भए अपराधीले एसीड आक्रमण गर्ने सोच नै बनाउने थिएनन् ।’

जादोलालले छिमेकी वा चिनेको मान्छेसँग छोराछोरीले बोलेको विषय अभिभावकसँग भन्नुपर्ने पाठ आफुले सिकेको बताए । उनी भन्छन्, ‘छिमेकी भनेरमात्र नहुँदो रहेछ, आफुले त छोरी गुमाएर थाहा पाइयो, अभिभावक र सन्तानले यस्ता विषयमा ध्यान दिनुहोस् भन्छु ।’