
काठमाडौँ, ८ असोज । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार एक्स्पो सकिएको छ । एक्स्पो अवधिमा भएको व्यापार तथा अवलोकनकर्ताको बाक्लो उपस्थितीले आयोजक संस्था फर्निचर तथा फर्निसिङ संघ उत्साहित बनेको छ ।
दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले भारी छुटमा समान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भिड लागेको एक्स्पोमा अधिकांश अवलोकनकर्ताले सामान बुकिङ गरेका छन् । संघका अध्यक्ष राजेशकाजी अग्रवालले भने, ‘व्यापारका हिसाबमा ठूलो रकमको सामान बुकिङ भएको छ । यसले हामीलाई आगामी वर्षहरुमा अझ विस्तारित शैलीमा एक्स्पो आयोजना गर्न उत्साहित बनाएको छ ।’
जेम फ्लोरिगंको प्रस्तुतिमा आयोजित एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको हो । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको बताए । फर्निचर एक्स्पोले आफूहरुलाई पनि उत्साहित बनाएको उनको भनाई छ ।
एक्स्पोलाई सिमल डेकोर, यती फ्लोरिगं, ग्लेन र डिलाइटले प्रायोजन गरेका थिए । एभरेष्ट इन्स्योरेन्सले एक्स्पोस्थलको बीमामा सहकार्य गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले एक्स्पोलाई प्रवर्द्धन गरेका थिए ।
प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु एक्स्पोमा सहभागी थिए । ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनीमा चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरणका साथै बुकिङ भएका छन् ।
एक्स्पोका संयोजक सुभेन्द्र जोशीले विगत वर्षको तुलनामा व्यापार तथा अवलोकनकर्ताको बाक्लो उपस्थितिले सेवाग्राहीले फर्निचरजन्य उत्पादनलाई अनिवार्य साधनको रुपमा लिन थालेको बताए । यसले आगामी दिनमा फर्निचरजन्य उत्पादनको व्यापार विस्तार हुने उनको बुझाई छ ।
होम डेकोर विशेष बनाइएको एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री अवलोकनकर्ताको आकर्षण बनेका थिए ।
नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।















प्रतिक्रिया