४ कार्तिक २०८३, बुधबार

कांग्रेसमा होला त ‘कोइराला ब्याक अगेन’ ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । सभापति शेरबहादुर देउवाविरुद्ध प्रभाव राख्न सक्ने नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत सक्रिय भएका बेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले युवा जमातलाई बोकेका छन् । देउवाविरुद्ध पुराना हस्तीको मोर्चाबन्दीले सभापति कमजोर बन्दै जाने र नयाँपंक्तिको नेतृत्वले आफुलाई आगामी नेतृत्वमा उभ्याउने सपना सिटौलासँग छ । त्यसैले सिटौला क्याम्प अहिले देउवाइतरसँग सैद्धान्तिक मुद्दामा सभापति देउवाविरुद्ध सँगै उभिएको छ र फरक रणनीति तय गरिरहेको छ ।

तर देउवाको उदयसँगै छायाँमा परेको कोइराला परिवारले पनि रणनीतिक अभ्यास गरिरहेको छ । यसको खुलासा महामन्त्री शशांक कोइरालाले गरेका छन् । विधानमा व्यापक संशोधनको तयारीमात्र भएको छैन, १४ औं महाधिवेशनमा कोइराला परिवारका एक जनाले नेतृत्व लिने अभ्यास पनि भइरहेको शशांकले खुलासा गरेका छन् ।

१३ औं महाधिवेशनमा नेता रामचन्द्र पौडेलको क्याम्पबाट उनी महामन्त्री निर्वाचित भएका थिए । बीचका केही समय सभापति देउवासँगै अलमलिएका उनको धारणा अहिले क्लियर छ । देश दौडामा रहेका उनले प्रस्ट भनेका छन्– अबको सभापति कोइराला परिवारबाट । आफु, दाजु शेखर अथवा सुजातामध्ये एक जना यसका दाबेदार हुनसक्ने उनको धारणा बाहिर आइसकेको छ ।

सभापति देउवा शक्तिशाली बन्ने होडमा कांग्रेसका कतिपय रणनीतिक काममा असफल भएपछि नेताहरू फरक गुटमा विभक्त भए । सरकारको विरोधमा उनीहरूको साझा धारणा बने पनि आन्तरिक राजनीतिमा भने सभापति देउवाविरुद्धका अनेक विभक्त समूहहरू सक्रिय छन् ।

तेस्रो धारका रुपमा सिटौलाको कसरत बलियो देखिन्छ । फरक धारका युवापंक्ति सिटौला नेतृत्वको गुटलाई उपयोग गर्न तयार छन् । सिटौलाले पनि कांग्रेस सभापतिमा चाहना देखाइरहँदा महामन्त्रीदेखि पदाधिकारी, जितेको खण्डमा मनोनित पदाधिकारी पनि युवाबाटै गर्ने संकेत देखाइसकेका छन् । अहिले कांग्रेसभित्रको फरक धारमा सिटौलासँगै उभिएका शेखर कोइराला, सुजाता कोइरालालगायत महाधिवेशन ताका कित्ता परिवर्तन गर्न कित आतुर हुन सक्छन् ?

सिटौलाको क्याम्पलाई सहयोग गर्दागर्दै महामन्त्री शशांक कोइरालाको प्रस्तावअनुसार शेखर र सुजाता एक ठाउँमा उभिएको खण्डमा कांग्रेसभित्र चौथो धारको दबदबा हुनसक्ने अनुमान पनि गरिन्छ । यसो हुँदा ‘कोइराला ब्याक अगेन’को मौका थोरै प्रतिशतमा हुनसक्ने कांग्रेसका केन्द्रीय सदस्यहरू बताउँछन् ।

गिरीजाप्रसाद कोइरालापछिको सत्ता १२ औं महाधिवेशनले सुशिल कोइरालाको टाउकामा पुगेको थियो । कांग्रेसको नेतृत्वको विकल्प कोइरालामात्रै बनेको समयमा सभापतिका उम्मेदवार हुन नसक्दा देउवाले बाजी मारेको ठहर अहिले कोइराला परिवारमा हुन थालेको छ । देउवा जति दुर्नाम हुँदै जान्छन् कोइराला परिवार नेतृत्वको खुड्कीलोमा त्यति नै सफल हुँदै जाने बुझाई पनि छ ।

१३ औं महाधिवेशनको मत सर्वेक्षणलाई आधार मान्ने हो भने डा. शेखर कोइराला सर्वाधिक मत ल्याउनेमा पर्छन् । यहि समयमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरलाई परिवारका तर्फबाट आगामी नेतृत्वको दाबेदार बनाउन सक्ने सम्भावना पनि बलियो रहेको छ । यदि त्यस्तो भयो र देउवाले कांग्रेसभित्र गिराएको साख उठाउन सकेनन् भने आगामी नेतृत्वमा शेखर आउनसक्ने सम्भावना बलियो नै देखिन्छ ।