४ कार्तिक २०८३, बुधबार

शहीद स्मारक ‘ए’ डिभिजन लिग : १४ क्लबले खेलाडी दर्ता गराए

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् ।

एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी एन्फामा दर्ता गराएका छन् । एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो । एन्फाले कम्तीमा १८ खेलाडी अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखेको थियो ।

खेलाडीको दर्तासँगै मेडिकल इन्स्योरेन्स तथा खेलाडीले पाउने पारिश्रमिकको सम्झौतापत्रसमेत क्लबले एन्फामा दर्ता गराएको महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाले शुरुमा भदौ ३० गतेको समयसीमा राखेर खेलाडी दर्ताका लागि क्लबलाई आह्वान गरको थियो । तर, क्लबले तयारी नपुगको भन्दै समय मागेपछि एकसाता समय थप गरिएको थियो ।

शुक्रबारसम्म सहभागी १४ क्लबले विदेशी खेलाडीलाई समावेश गर्दै एन्फामा अनलाइन र हार्डकपी बुझाएका छन् । क्लबले दर्ता गरेको खेलाडीलाई सूचीकृत गर्ने काम भइरहेको बताउँदै ‘ए’ डिभिजनका लिग निर्देशक सञ्जीव मिश्रले एक दुई दिनमै खेलाडीको नामावली सार्वजनिक गर्ने बताए ।

सहभागी १४ मध्ये १२ क्लबले अनलाइनसहित हाडकपीसमेत एन्फामा बुझाएका छन् भने फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दी अनलाइनबाट मात्र नाम दर्ता गराएका छन् । लिग सञ्चालनका समयमा समेत क्लबलले आवश्यक परेको अवस्थामा खेलाडी दर्ता गर्न पाउने एन्फाले जनाएको छ ।

यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जाउलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् ।

लिगको चौंथो टोलीले १५ लाख, पाँचौं टोलीले सात लाख र छैटौँंले पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिनेछन् । -रासस