शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

बुलेटप्रुफ गाडी सबैभन्दा धेरै कुनै देशमा प्रयोग हुन्छ ?

दैनिक नेपाल २०७५ असोज ५ गते ६:४३

जोहानेस माइबर्ग

साओ पाउलो, ५ असोज । ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने चिन्तामा डुबेका हुन्छन् । कमजोर अर्थतन्त्रका कारण आफ्नो सुरक्षाका लागि उनीहरूसँग यथेष्ट रकम पनि छैन । अर्कैले प्रयोग गरिसकेको बुलेटप्रुफ (गोली छेक्न सक्ने)कार उनीहरूको रोजाइमा पर्न थालेको छ ।

साँच्चिकै सुरक्षाका लागि होस् वा अरुलाई देखाउन, निजी बुलेटप्रुफ कार धनदौलतको रवाफ देखाउन पनि प्रयोग गरिन थालेको छ । ब्राजिलमा अरु धेरै मुलुकमा भन्दा ज्यादै बढी बुलेटप्रुफ कार प्रयोग हुने मुलुकमा दर्ज भइसकेको छ ।

औद्योगिक क्षेत्रका विज्ञहरुका अनुसार ब्राजिलमा विश्वमै सबैभन्दा ठूलो बुलेटप्रुफसम्बन्धी उद्योग सञ्चालनमा छ । ब्राजिलमा करिब २४ करोड ५० लाख अमेरिकी डलर बराबरको बुलेटप्रुफ निर्माणसम्बन्धी उद्योग छ ।

तर आर्थिक मन्दीबाट बिस्तारै घस्रेर सुधारतर्फ अघि बढेको ब्राजिलमा सवारी चालकहरू बजेटको चाँजोपाँजो मिलाउनमै व्यस्त देखिन्छन् । लगातार दुई वर्षसम्म निकै ओरालो लागेको ब्राजिलको अर्थतन्त्र सन् २०१७ मा एक प्रतिशतले झिनो वृद्धि भएको थियो ।

‘मलाई कार औधी मन पर्छ, तर एउटा मात्र कारका लागि यतिधेरै खर्च गर्न मलाई ठीक लागेको छैन’, एकजना कानुन व्यवसायी माउरिसियो पाउलोले बताए । उनले अहिले दोस्रो बजारबाट खरिद गरिएको बुलेटप्रुफ भोल्भो एक्सजेड ६० चढ्दै छन् । पाउलोको यो ४० वर्ष पुरानो चौथो बख्तरबन्ध कार हो ।

ट्राफिक लाइटमा रोकिएको बेला डकैती भएपछि उनले पहिलो बुलेटप्रुफ कार किनेका थिए । १८ महिनाअघि छोरी जन्मिएपछि उहाँले अर्को पनि बुलेटप्रुफ गाडी किन्नुपरेको थियो । तर यसपटक पनि उनीसँग मितव्ययी हुनुको विकल्प थिएन ।

‘असुरक्षित परिस्थितिका कारण मलाई बुलेटप्रुफ कार नै चाहिएको थियो’, उनले भने, ‘मैले अरुले चढेको पुरानो कार किनें किनभने थोरै पैसामा सुरक्षितसाथ घुम्ने एकमात्र विकल्प यही थियो ।’

सामान्य कारलाई बुलेटप्रुफ बनाउन थप १३ हजार अमेरिकी डलर आवश्यक हुन्छ । यो रकमले त अर्को कार किन्न पनि पुग्छ । तर पुराना बुलेटप्रुफ कारको मूल्य भने १० देखि ४० प्रतिशतसम्म न्यून हुने गरेको छ ।

अर्को ठूलो बजार मेक्सिकोको हो । यहाँ सन् २०१७ मा दुई हजार ९८६ वटा कारमा बुलेटप्रुफ राखियो । गत वर्षको आर्थिक जटिलताका बाबजूद ब्राजिलमा १५ हजार कारमा बुलेटप्रुफ जडान गरिएको छ ।

ब्राजिलको आर्थिक राजधानी साओ पाउलोमा खासगरी मध्यमवर्गले कारलाई बुलेटप्रुफ बनाएको पाइएको छ । यद्यपी, ब्राजिलका विभिन्न भागमा तनाब भइरहे पनि साओ पाउलोलाई सबैभन्दा सुरक्षित मान्ने गरिन्छ ।

झण्डै दुई तिहाई बुलेटप्रुफ जडानको कार्य साओ पाउलोमै हुने गरेको छ, र मुलुकका करिब एकलाख ५० हजार बुलेटप्रुफ जडित कारमध्ये अधिकांश यही सहरमा छन्, बुलेटप्रुफसम्बन्धी संस्था अब्राबलीनले जनाएको छ ।

अब्राबलीन वा पुराना कार बिक्रेताको छाता संस्था फेनाउतो दुबैले पुराना बुलेटप्रुफ गरिएका कारको अभिलेख राखेका छैनन् । तर औद्योगिक क्षेत्रका विज्ञहरुको भनाइमा यो वास्तविक प्रवृत्ति हो ।

‘यो वर्ष पुराना कारको बिक्री अझ बढ्ने देखिन्छ’, साओ पाउलोस्थित बुलेटप्रुफको काम गर्ने कम्पनीका निर्देशक फाबिओ रोभेडो डे मेल्लोले बताए । ‘मुलुकको पछिल्लो परिस्थितिका कारण प्रयोग भइसकेका कारको माग ह्वात्तै बढेको छ’, उनले बताए ।

ब्राजिलमा सन् २०१६ मा नयाँ कारको खरिदबिक्री १० वर्ष यताकै सबैभन्दा कम भएको छ । मानिसहरु पुराना गाडीमा बुलेटप्रुफ जडान गर्नतिर आकर्षित भएका छन् किनभने नयाँ कार खरिद गरेर त्यसमा बुलेटप्रुफ लगाउँदा अति महङ्गो पर्दछ ।

‘नयाँ कारको बिक्री घट्नुको अर्थ प्रयोग भइसकेका पुराना कारको माग बढ्नु हो, किनभने मानिसले नयाँ कार खरिद गर्न सकिरहेका हुँदैनन्’, हाइड्रोइलेक्ट्रिक कम्पनीमा कार्यरत व्यवस्थापक इलीयान वाकाचुकीले बताए । उनले बुलेटप्रुफ गरिएको आरामदायी मर्सिडिज बेन्ज जीएलए २०० को ‘टेस्ट–ड्राइभ’ गरिरहेका छन् ।

नयाँ कार खरिद गरेर बुलेटप्रुफ जडान गरेकाहरु पनि आफ्नो कार बिक्री गर्न खोजिरहेका पाइन्छन् । गत वर्ष, सबैभन्दा बढी टोयोटा कोरोल्लाको नयाँ कारमा बुलेटप्रुफ गरिएको थियो ।

कारधनीहरूले अपराधमा भएको तिब्र वृद्धिका कारण थप सुरक्षा चाहेको बताएका छन् । ब्राजिलमा रहेका केही अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना कर्मचारीलाई बुलेटप्रुफ कार अनिवार्य रुपमा चढ्न बाध्य बनाएका छन् । तर कार नै चाहिन्छ वा चाहिन्न भन्ने अर्को प्रश्न हो ।

ब्राजिलकै सबैभन्दा धनी राज्य साओ पाउलोमा सन् २०१६ मा सबैभन्दा न्यून दरमा हत्याका घटना भएका थिए । यो राज्यमा प्रति एक लाख जनतामा १०.९ हत्या भएका थिए जबकी ब्राजिलको राष्ट्रिय औसत दर ३०.३ प्रतिशत रहेको छ । ब्राजिलको उत्तरपूर्वी सर्जीप राज्यमा यो दर ६४।७ प्रशितशत रहेको छ ।

‘ब्राजिलमा बुलेटप्रुफ कारले व्यक्तिको प्रतिष्ठा जनाउँछ । मानिसले आफ्नो सुरक्षाभन्दा पनि आफ्नो प्रतिष्ठालाई बढी महत्व दिएका छन्’, पाउलोका लागि बुलेटप्रुफ सवारीसाधनले सुरक्षामै सुनिश्चित गराइरहेको छ ।

‘यदि कसैसँग केही बढी रकम छ भने उनीहरूले आफ्नो सुरक्षामा बढी नै खर्च गर्नु स्वाभाविक हो’, उनले बताए । ‘पैसा नहुनेले सानो मुद्दामा पनि ज्यान गुमाउन बाध्य हुन्छन्’, उनले भनेका छन् । एएफपी

प्रतिक्रिया
सम्बन्धित