शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

दीपकराज जोशीलाई महाअभियोग लगाउन हस्ताक्षर संकलन

दैनिक नेपाल २०७५ असोज ४ गते १५:५६


काठमाडौँ, ४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी गरेको छ । महाभियोगका लागि नेकपाले सांसदहरुसँग हस्ताक्षर संकलन गरिएको छ । हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरिरहेका छन् ।

जोशीलाई राजीनामा दिन नेकपाका नेताहरुले दबाब दिएका थिए । तर, त्यसलाई अटेर गर्दै उनी सर्वाेच्चमा फर्किएपछि महाअभियोगको तयारी थालिएको हो । प्रधानन्यायाधीशमा अयोग्य व्यक्ति न्यायाधीशका लागि कसरी योग्य भयो भनेर अहिले जोशी र सरकारको आलोचना भइरहेको छ ।

प्रधानन्यायाधीशमा संवैधानिक समितिबाट सिफारिस भए पनि संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशी केही समय बिदामा बसेका थिए । तर, नयाँ प्रधानन्यायाधीशका रुपमा ओमप्रकाश मिश्र आएसँगै पुन सर्वोच्च फर्किएका थिए । उनी ४१ दिनपछि सर्वोच्च फर्किएका थिए । जोशीले यो बीचमा राजीनामा नदिए महाअभियोग लगाइनेछ ।

जोशीलाई गत साउन १८ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि उनीमाथि राजीनामा दिन दबाब बढेको थियो । तर, उनले आफू प्रधानन्यायाधीशमा अस्वीकृत भए पनि न्यायाधीशका रुपमा काम गर्ने बताउँदै आएका थिए ।

संविधानको धारा १३१ (ग) मा धारा १०१ बमोजिमको महाभियोगको प्रस्ताव पारित भएमा सर्वोच्च अदालतका न्यायाधीश पदमुक्त हुने व्यवस्था छ । धारा १०१ मा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले सर्वोच्च अदालतका न्यायाधीश विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्ने उल्लेख छ । त्यस्तो प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने व्यवस्था पनि सो धारामा गरिएको छ ।

प्रतिनिधिसभामा नेकपाको १ सय ७४ जना सांसद छन् । सत्ता सहयात्री अर्को दल संघीय समाजवादी फोरमको १६ सिट पनि जोड्दा सत्ता साझेदार दलको १ सय ९० सांसद पुग्नेछन् । जुन दुई तिहाइभन्दा बढी हुन जान्छ ।

प्रतिक्रिया
सम्बन्धित