शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

संविधान संसोधन नभएसम्म कालो दिन : महेन्द्र राय यादव

दैनिक नेपाल २०७५ असोज ३ गते १९:०१


परासी, ३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान शंसोधन नभएसम्म संघर्ष जारी नै रहने बताएका छन् ।

नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउदैँ राष्ट्रिय जनता पार्टी नेपाल, नवलपरासी र राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासीले संयुक्त रुपमा बुधबार परासीमा गरेको विरोध सभामा बोल्दै नेता यादवले संविधान सर्वस्वीकार्य नभएसम्म कालो दिनकै रुपमा मनाईने स्पष्ट पारेका हुन् । अहिले पनि केही खास समुदायका व्यक्तिहरुले नश्लवादी सोंच, विचार र दृष्टिकोण राखी शासन चलाउन खोजेको आरोप लगाए ।

नेता यादवले सरकारले राजपासँग गरेको सबैखाले सम्झौता, सहमति उल्लंघन गरेको आरोप पनि लगाए । सरकारले संविधान संशोधनमा आलटाल गरिरहेको उनको जिकिर थियो । संविधान संशोधनको माग पुरा नभए जुन बेला पनि ‘विस्फोट’ हुनसक्ने उनले चेतावनी दिए ।

राजपाका केन्द्रीय उपाध्यक्ष अलाउदिन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य लुमबहादुर खाम्चा मगर, राजपाका केन्द्रीय उपाध्यक्ष एवं पूर्व शिक्षा राज्यमन्त्री गोविन्द प्रसाद चौधरी, केन्द्रीय सदस्य शत्राजित यादव, केन्द्रीय सदस्य पुरन चौधरी, जिल्ला संयोजक विजयकुमार अग्रहरी, थारु कल्याणकारीणी सभाका जिल्ला अध्यक्ष मुन्द्रीका चौधरी, राजपाका युवा नेता नगेन्द्र अग्रहरी, जिल्ला सदस्य मन्जुदेवी चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला सचिव कल्पना पुन लगायतले संविधान संशोधनको औचित्यबारे धारणा राखेका थिए ।

विरोध सभा अघि विरोध जुलुस पनि प्रर्दशन गरिएको र आज साँझ ७ बजेदेखि ७ः१५ बजे सम्म ब्याल्कआउट गर्ने कार्यक्रम रहेको राजपा नेपाल नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित