
-विमल योगी
काठमाडौँ, २ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफू संविधान अनुसार चलिरहेको स्पष्ट पारेका छन् । संसद सचिवालय सिंहदरबारमा मंगलबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले आउँदा दिनमा पनि संविधान अनुसार नै चल्ने बताए ।
केहीदिन पहिले राष्ट्रियसभाको बैठक चलिरहेका बेला नीजि विद्यालयको कार्यक्रम उद्घाटन गर्न गएको सन्दर्भमा सोधेको प्रश्नमा अध्यक्ष तिमिल्सिनाले भने, ‘म संविधान अनुसार नै चलेको छु, संविधानले राष्ट्रियसभाका अध्यक्ष वा उपाध्यक्ष र प्रतिनिधिसभाका सभामुख वा उपसभामुखले बैठक संचालन गर्न सक्ने व्यवस्था गरेको छ ।’
उनले यति भनेपछि सञ्चारकर्मीहरुले थप प्रश्न गर्दै संसद नियमावली अनुसार बैठकको सुरुवात र अन्त्य अध्यक्ष÷सभामुखले नै गर्नुपर्ने व्यवस्था रहेको बताएपछि उनले नियमावलीको कुरा भन्दा पनि आफू संविधान अनुसार नै चल्ने बताए ।
सञ्चारकर्मीहरुले सार्वजनिक खरिद ऐन विपरित राष्ट्रियसभाका अध्यक्ष र सचिवले कार्यकक्ष बनाएको विषयमा पनि प्रश्न गरेका थिए । यसमा अध्यक्ष तिमिल्सिनाले यसको जवाफ संसद सचिवालयका महासचिवले दिनुपर्ने बताए । यसमा आफ्नो कुनै जवाफदेहिता नरहेको भन्दै उनले कार्यकक्ष निर्माणको काम संसद सचिवालयले गर्ने प्रष्ट पारे ।
उनले संसद सचिवालयको प्रवक्ता सकेसम्म आज नभए भोलीसम्म तोकिने पनि जानकारी दिए । संसद सचिवालयले सूचना लुकाउने गरेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘हामीले कुनै पनि सूचना लुकाएका छैनौँ, प्रक्रिया नपुगेकाले त्यसो हुन गयो होला ।’
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महाराले संसदबाट १६ वटा विधेयक पारित भएको जानकारी गराए । सरकारले ३२ वटा विधेयक पठाएकोमा १६ वटा पास भएको, ६ वटामा लालमोहर लागेको र अरु बाँकी नै रहेको महराले बताए । बाँकी विधेयकमध्ये नागरिकता सम्बन्धी विधेयक पनि रहेको छ ।












प्रतिक्रिया