
काठमाडौँ, १ असोज । संघीय समाजवादी फोरम असोज ३ गते मधेशवादी दलले मनाउने कालो दिवसमा सहभागी नहुने भएको छ ।
तर, संविधानसभाबाट जारी गराइएको नेपालको संविधानप्रति आफ्नो असहमति, विरोध र फरक धारणा यथावत् नै रहेको फोरमले बताएको छ । पार्टीका महासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधन गर्न सरकार सहमत भइसकेको वर्तमान अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी हुन पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यस्ताखाले कार्यक्रमहरुमा सहभागी नहुने र यस सम्बन्धमा अन्य कुनै भ्रममा नरहन समेत सम्पूर्णमा संसफो नेपाल आग्रह गर्दछ ।’
संविधान जारी हुने समयमा सँगै संघर्षमा रहेका अन्य दल अहिले राष्ट्रिय जनता पार्टीका रुपमा एकीकृत भएपछि पनि संविधानप्रति विरोध गरिरहेका छन् । राजपाले केही दिनअघिको अध्यक्ष मण्डलको बैठक मार्फत असोज ३ गते ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया