
इटहरी, १ असोज । इटहरी उपमहानगरले कक्षा १ देखि ८ सम्म छुट्टै स्थानीय पाठ्यक्रम बनाएर इटहरी चिनाउने पाठ्यपुस्तक तयार गर्ने भएको छ ।
इटहरी उपमहानगर शिक्षा महाशाखाको बैठकले पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणका लागि समन्वय समिति गठन गरि काम थाल्ने निर्णय गरेको हो । शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाका अनुसार आगामी शैक्षिक सत्र देखि इटहरीका विद्यालयहरुको कक्षा १ देखि ८ सम्मको एउटा पुस्तक स्थानीयमा विषयवस्तुमा आधारित हुने छ ।
नेपाली र अंग्रेजी दुवै माध्यममा पुस्तक तयार पारिने छ । पुस्तकमा राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तुहरु समेटिने कोइरालाले जानकारी दिनुभयो । उनले भने, ‘कक्षा ८ पास गरेका विद्यार्थीले इटहरीलाई मज्जाले चिन्ने छन् । पाठ्यपुस्तकमा स्थानीय भूगोल, जातजाती, आर्थिक, सामाजिक, राजनीतिक, ऐतिहासिक, धार्मिक, साँस्कृतिक लगायतका बिषयवस्तु समेटिने छन ।
दरवन्दी मिलान गरिने
स्थानीय तह भएयता इटहरीमा पहिलो पटक विद्यालयहरुमा दरबन्दी मिलान गरिने भएको छ । दरबन्दी मिलानका लागि प्रतिवेदन तयार गर्न १५ दिनको समयसिमा तोकेर शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
दरबन्दी मिलान गर्दा ५० विद्यार्थी बराबर एकजना शिक्षक कायम गरिने कोइरालाले जानकारी दिए । अहिले इटहरीका विद्यालयहरुमा विद्यार्थीहरुको अनुपातमा शिक्षक संख्या बढि रहेको पाइएको छ ।
छात्रवृतिका लागि समय थप
इटहरी उपमहानगरले संस्थागत विद्यालयले अनिवार्य दिनुपर्ने १० प्रतिशत छात्रवृतिलाई कडाइका साथ कार्यावन्यन गर्ने प्रक्रिया अघि बढाएको छ ।
त्यसका लागि जेहेन्दार, विपन्न, दलित, गरीब विद्यार्थीले छात्रवृतिका लागि उपमहानगरको शिक्षा महाशाखामा निवेदन दिने अवधि असोज १५ गते सम्मका लागि थप गरिएको शिक्षा महाशाखाले जनाएको छ ।
यसअघि भदौ ३१ गते सम्मका लागि समय तोकिएको थियो । शिक्षा महाशाखामा आएका निवेदनहरु छानविन गरि संस्थागत विद्यालयहरुलाई छात्रवृतिका लागि सिफारिस गरिने बताइएको छ ।












प्रतिक्रिया