
काठमाडौं, ३१ भदौ । जापानले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर अर्थउपार्जन गर्न नेपाललाई सुझाव दिएको छ ।
नेपालको हिमालयमा पर्याप्त मात्रामा पिउन योग्य पानी रहकाले त्यसको निर्यात गरेर पैसा कमाउन जापानको सुझाव छ । जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायीहरु सम्मिलित प्रतिनिधिमण्डलका सदस्यहरुले आइतबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग उक्त प्रस्ताव राखेका हुन् ।
‘विश्वभर अब सबैभन्दा ठूलो संकट पानीको आउँदैछ,’ टोलीका सदस्य तथा पूर्वसांसद माचुदाले भने, ‘नेपालको हिमालय क्षेत्रमा पर्याप्त पानी छ, त्यसलाई विदेशमा बेचेर मनग्य पैसा कमाउन सक्नुहुन्छ ।’ जवाफमा मन्त्री बस्नेतले पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाएको र त्यस सम्बन्धमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए । त्यस क्रममा मन्त्री बस्नेतले नेपालमा बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दिर्घकालीन समाधानको विधिमा जान लागिएको बताए ।
‘एक ठाउँमा जम्मा भएको फोहोरलाई अन्यत्र लगेर फाल्ने तरिकाले मात्र फोहोर व्यवस्थापन दिगो नहुने हाम्रो अनुभवले देखाएको छ,’ उनले भने, ‘फोहोरको पुनः प्रयोग गर्नेबारेसोचिरहेका छौं ।’















प्रतिक्रिया