काठमाडौं, २९ भदौ । अनियमित विद्युत् आपूर्तिले फिदिमका स्थानीय हैरान छन् । विद्युत् प्राधिकरण वितरण केन्द्र र फिदिममा वितरणको जिम्मा पाएको विद्युत् सहकारी संस्थाबीच समन्वय नहुँदा उपभोक्ता समस्यामा परेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्राधिकरणको वितरण शाखाले आफ्नो काम फिदिमसम्म आपूर्ति गर्ने भएकाले अन्य समस्या हेर्न नसक्ने जनाएको छ । उता सहकारीले पनि आफ्नो काम फिदिममा आएको विद्युत् उपभोक्तालाई वितरण गर्ने मात्र भएकाले अन्य समस्या हेर्न नसक्ने जनाएको छ ।
तर, अनियमित प्रसारण समाधानका लागि दुवै संस्थाले चासो नदिँदा फिदिमका तीन हजार उपभोक्ता समस्यामा छन् ।वर्षामा बाढीपहिरोले अघोषित लोडसेडिङ नै हुने स्थानीय व्यवसायी योगराज सेढाईंले बताए । सामान्य समस्यामा पनि घन्टौँ लोडसेडिङ हुने गरेको छ ।
प्राधिकरण वितरण केन्द्र फिदिमका प्रमुख सुरेशप्रसाद सिंहले तत्काल समस्या समाधान गर्न सकिने भए पनि दीर्घकालीन समाधानका लागि छलफल गर्नुपर्ने बताए । उनले भने, ‘म पनि यो ठाउँमा नयाँ हुँ, भर्खर आएकाले समाधानका लागि छलफल गर्छु ।’
लगातार अनियमित आपूर्ति भएपछि फिदिमका व्यवसायीको आकस्मिक बैठकले पाँचथर उद्योग वाणिज्य संघलाई समस्या समाधानको पहल गर्न आग्रह गरेको छ । संघका अध्यक्ष दीपक नेपालले प्रमुख जिल्ला अधिकारी, फिदिम नगरपालिका, विद्युत् प्राधिकरण वितरण केन्द्रलगायतसँग छलफल गर्ने बताए ।















प्रतिक्रिया