शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

बामदेव गौतम प्रतिनिधि सभा छिर्ने हल्ला : डोल्पा मिलेन, अन्य क्षेत्रमा च्याप्टर क्लोज !

दैनिक नेपाल २०७५ भदौ २८ गते १४:०९

काठमाडौं, २८ भदौ । एउटा अन्तरवार्तामा नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले भनेका थिए– अध्यक्षको चाहना म प्रतिनिधि सभामा आऊँ भन्ने भएकाले त्यसअनुसारको तयारी गर्दैछु ।

गौतमलाई नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा छिराउन चहान्छन् । त्यसका लागि पूर्वतयारी पनि नभएको होइन । गौतमलाई डोल्पाबाट जिताउन सहज हुन्छ भन्ने लागेपछि त्यहाँका सांसद धनबहादुर बुढालाई राजीनामा गराउने हल्ला बजारीकरण भयो । बुढाले पनि ठाउँ छाड्ने संकेत दिँदै भनेका थिए– नेताले चाहे त्यो गर्छु । तर, अब गौतमका लागि बुढा पनि ठाउँ छाड्न तयार छैनन् ।

के गौतम उठ्ने विषयको च्याप्टर क्लोज भएकै हो ?

डोल्पामा बुढालाई राजीनामा गर्न लगाएर गौतमलाई उठाउने पहिलो हल्लाले त्यतिबेला विश्राम पायो, जतिबेला त्यहाँका नेकपा कार्यकर्ताले ‘हुँदैन’ भन्ने डेलिगेशन केन्द्रीय कार्यालयमा ल्याए । त्यसपछि बुढा आफैं पनि क्षेत्रमा पुगेर गौतमलाई सघाउनका लागि अपिल गर्न पुगे । तर, कार्यकर्ता र मतदाताले नमानेपछि उनको घोषणा आयो– म छाड्दीन !

गौतमको चाहना डोल्पामा मात्रै रोकिँदैन । भैंसेपाटीमा बस्ने उनका बारेमा अनेकन हल्ला चलाउन थालियो । र, ललितपुर पनि सारियो यो विषय ।

नेकपाले ललितपुर–१ मा प्रतिनिधि सभा सदस्य नवराज सिलवाललाई राजीनामा गर्न लगाउने भन्ने अर्को हल्ला आयो । यसलाई सिलवालले सिधै ‘उडन्ते’ गफ भनिदिए । यस्ता वाइयात कुराको पछि नलाग्न पनि उनको सुझाव आयो । जुन क्षेत्र चर्चामा आउने कुनै सवाल नै छैन ।

त्यसपछि वामदेवका लागि विकल्पको द्वार पूर्वी रुकुमतिर सारियो । त्यहाँबाट निर्वाचित सांसद कमला रोक्काले निराधार हल्लामात्र भएको टिप्पणी गरिन् । उनले बामदेव गौतमलाई त्यहाँबाट चुनाव लडाउने कुनै सल्लाह वा कुुराकानी समेत पार्टीमा नभएको रोक्काको दाबी आएपछि अर्को ‘च्याप्टर क्लोज’ भयो ।

प्युठानका सांसद दुर्गा पौडेललाई राजीनामा गर्न लगाएर उपनिर्वाचन मार्फत गौतम उठ्ने चाहना रहेको हल्ला पनि आएको थियो । तर प्युठानका सांसद पौडेललाई त्यसविषयमा कुनै जानकारी नहुनु गौतमका लागि ठाउँ खाली गर्न कोही पनि तयार नभएको प्रस्ट देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित