१२ कार्तिक २०८३, बिहिबार

इन्फ्लुएन्जाबाट सप्तरीमा तीनको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २८ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिकामा इन्फ्लुएन्जाका कारण तीनजनाको मृत्यु भएको छ । सो क्षेत्रमा अहिले सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को टोलीले रगतको नमुना संकलन गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–३ बरमझियाका १४ वर्षीय किशोर राम, वडा नम्बर–७ धरमपुरका १४ वर्षीय दिवस बस्नेत र वडा नम्बर–९ रूपनगरका १४ वर्षीय आमोदकुमार राम छन् । तीनैजनालाई उच्च ज्वरो आएको र केही दिनमै नाक र मुखबाट रगत आएर मृत्यु भएको स्थानीयले जनाएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख जनस्वास्थ्य अधिकृत निरञ्जनप्रसाद यादवका अनुसार सो क्षेत्रमा बिरामीको रगतको नमुना संकलन गरिएको छ । इडिसिडी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्य कार्यालयसहितको टोलीले रगतको नमुना संकलन गरेको हो ।

उच्च ज्वरो आएको केही दिनमै फरक–फरक ठाउँका, तर उस्तै उमेर समूहका किशोरको मृत्युको कारण खोज्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सात चिकित्सकको टोलीले बिरामीको जाँच गरेर फर्किएको छ ।

इडिसिडीका डा. प्रकाशप्रसाद साह, ल्याब टेक्नेसियन डबल बिसी, जनस्वास्थ्य अधिकृत रेशम लामिछाने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लोकनाथ भट्टराई, विश्व स्वास्थ्य संगठनकी डा। सोनिया भगत, जनस्वाथ्य अधिकृत यादवसहित, प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले रगतको नमुना संकलन र बिरामीको जाँच गरेको हो ।

टोलीले प्राथमिक स्वास्थ्य केन्द्रमा तीन दिन निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । २६ भदौसम्म सञ्चालित शिविरमा कञ्चनरूप वडा नम्बर ३, ७ र ९ का पाँचदेखि २० वर्ष उमेर समूहका एक हजार एक सय २२ बालबालिका तथा किशोर–किशोरीको जाँच गरिएको जनस्वास्थ्य अधिकृत यादवले उल्लेख गरे ।