शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

प्रहरी इन्काउन्टरमा मारिएका डन चरीकी प्रेमिकाले पाइन् मलेसियामा अवार्ड

दैनिक नेपाल २०७५ भदौ २७ गते १९:०७

काठमाडौँ, २७ भदौं । एशियन फुटबल फेडेरेशन (एएफसी)ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड–२०१८ प्रदान गरेको छ ।

बुधबार मलेशियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनमा खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गनाइजेशन र व्यक्तिगततर्फ यो अवार्ड प्रदान गर्दै आइरहेको छ । खुस्बुलाई भने एएफसीले व्यक्तिगत विधाअन्तर्गत अवार्ड प्रदान गरेको हो । यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि खुस्बुलाई उक्त अवार्डका लागि एएफसीसमक्ष सिफारिश गरेको थियो ।

सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेका थिए । खुस्बुलाई अवार्डसँगै १० हजार अमेरिकी डलरसमेत प्रदान गरिएको थियो ।

खुस्बुले युनाइटेड नेसन्स सस्टेनेबल गोलअन्तर्गत रहेर पछिल्लो समय नेपालको पूर्वी क्षेत्रमा पाँच नमूना गाउँ निर्माण गरिसकेकी छन् । अवार्डपछि खुस्बुले गरीब समुदायमा व्यक्तिगत दक्षतामा विकास गरी समग्र गाउँको सशक्तिकरणका लागि आफूलाई थप उत्प्रेरणा मिलेका बताइन् ।

अध्यक्ष खुस्बुले एक हजार सडक बालबालिकालाई फुटबलको माध्यमबाट विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन् । केही समय अगाडि मात्र सेल्टरको व्यवस्थापनमा सडक बालबालिको राष्ट्रिय फुटबल टोली तयार गरी रुस विश्वकपको दौरान स्ट्रिट चाइल्ड वल्र्डकपमा समेत सहभागी गराइएको थियो । संस्थाले अन्य विभिन्न खेलका माध्यमबाट सडक बालबालिकाको संरक्षण गर्दै आइरहेको छ ।

खुस्बु प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात डन दिनेश अधिकारी ‘चरी’को प्रेमिकाको रुपमा चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित