काठमाडौं, २७ भदौ । चिनियाँ संस्थाद्वारा नेपाली युवाहरूका लागि प्रदान गरिएको छ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ ।
चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित गुडविल फाउन्डेशनको सहकार्य र नेपालस्थिति सामाजिक रुपान्तरण नेपालको आयोजनामा सो तालिम कक्षा सम्पन्न भएको हो ।
भक्तपुरको लोकन्थलीमा आयोजित सो कम्प्युटर कक्षाको समापन कार्यक्रम सोमबार सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै कम्प्युटर तालिम कक्षा उपलब्धिपूर्ण भएको बताइन् ।
उनले भनिन्, ‘यो तालिमले नेपाली युवाहरूलाई राम्रो रोजगारीको अवसर सिर्जना गर्नेछ’, उनले भनिन्, ‘कम्प्युटर अहिले रोजगारी र दैनिक क्रियाकलापको लागि आवश्यकताको वस्तु हो । यस्तो सिपमूलक तालिम प्रदान गरिदिएकोमा म चिनिया संस्थालाई धन्यवाद दिन्छु । जसबाट हाम्रा युवाहरूले राम्रो भविष्य निर्माण गर्ने अवसर पाएका छन् ।’
गुडविल फाउन्डेशनका प्रमुखमा चिच्यानले कम्प्युटर कक्षामा सहभागी २० जनामध्ये आधाले यसअघि नै विभिन्न क्षेत्रमा रोजगारी पाइसकेको जानकारी गराए । उनले भने, ‘नेपाली युवाहरूले पाएको यो ज्ञान र सीप नेपाली बजारकोलागि उपयोगी हुनेछ ।’ यो आफ्नो संस्थाको पहिलो प्रयास भएको भन्दै चिच्यानले आगामी दिनमा अझ उत्कृष्ट कम्प्युटर कक्षाहरू सञ्चालन गर्ने पनि जानकारी गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित चिनियाँ राजदूताबासका काउन्सिलर लि चुन चाओले तालिम प्राप्त नेपाली युवाहरूले अब नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा पुलको काम गर्ने उल्लेख गरे ।
तालिम लिएका युवामध्ये उत्कृष्ट दुई जनालाई नेपाल–चीन कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनकोतर्फबाट एक–एक वटा ल्यापटप पनि उपहारस्वरुप प्रदान गरिएको थियो ।
यसरी उपहार पाउनेमध्येकि एक श्वेता भुजेलले तालिमबाट नयाँ कुरा सिक्न पाएको बताइन् । उनले भनिन्, ‘हामीले कम्प्युटरको ज्ञान मात्रै नलिएर मल्टिमिडिया र पब्लिक स्पिकिङको ज्ञान पनि लिन पाएका छौँ ।’
भक्तपुर क्षेत्रका गरिब र विपन्न परिवारका २० जना युवालाई छ महिने कम्प्युटर तालिम प्रदान गरिएको थियो ।














प्रतिक्रिया