काठमाडौं, २७ भदौ । मुलुकी ऐनका दफा ४० मा कुनै कसुरदारको कैद अवधि कसरी गणना गर्ने भन्नेबारे उल्लेख गरिएको छ । कसैको कैद अवधिको गणना गर्दा कसूरदार हिरासतमा वा थुनामा रहेको मितिदेखि गणना गर्नुपर्ने छ । तर, कसुरदार हिरासतमा नभइ कारागारमा बसेको भए सोही मितिदेखि गणना गर्नु पर्नेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कसुरदार हिरासत वा कैदबाट छुटेको दिनलाई कैद अवधिमा गणना गरिने छैन । दफा २७ मा हप्ताको अन्तिम दिन वा रात्रीकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने प्रावधान राखिएको छ । एक वर्षसम्म कैद पाएको कसूरदारबारे अदालतले सो व्यवस्था गर्नेछ ।
नयाँ मुलुकी ऐनले खुल्ला कारागारमा व्यवस्था पनि अंगिकार गरेको छ । दफा २८ को उपदफा (१) मा भनिएको छ,‘कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रमुखको सिफारिसमा सम्बन्धित जिल्ला अदालतको न्यायाधीशले खुल्ला कारागारमा राख्ने आदेश दिन सक्नेछ ।’
‘खुल्ला कारागार’ भन्नाले कैदीले तोकिएको समयमा आफू्लाई राखिएको ठाउँभन्दा बाहिरसमेत गएर कुनै काम गर्न पाउने गरी सरकारले तोकेको कुनै ठाउँलार्इ भनिएको छ । त्यसरी पनि कैदीको आचरणमा सुधार नआए बाँकी कैद सजाय कारागारमा बसेर भुक्तान गर्नु पर्नेछ ।
एक वर्षभन्दा बढी अवधिको कैद भुक्तान गरिरहेको र राम्रो आचरण भएका कसूरदारलाई तोकिएको कैद अवधि भुक्तान हुनुभन्दा ६ महिना अगाडि छाड्नसक्ने प्रावधान राखिएको छ । दफा ३० अनुसार कैदीलाई सामाजिकीकरण गराउनु पर्नेछ ।















प्रतिक्रिया