२१ कार्तिक २०८३, शनिबार

बिआरआई अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुंगा : सभामुख महरा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । सभामुख कृष्णबहादुर महराले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुंगा भएको बताएका छन्।

चीन तिब्बत पर्यटन र सांस्कृतिक एक्सपोअन्तर्गत आज (सोमबार) ल्हासामा आयोजित ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेश्नल कोअपरेशन फोरमलाई सम्बोधन गर्दै सभामुख महराले बिआरआईले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौं अवसरहरु सृजना गरेको बताए।

बिआरआइमार्फत् हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध बिस्तार गर्ने नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य रहेको सभामुख महराले बताए। ‘बिआरआईमार्फत् हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य हो। जसले दुवै देशमा व्यापार र व्यवसायका धेरै अवसरहरु सृजना गर्नेछ’, उनले भने, ‘चीनको औद्योगिक विकास, प्रविधि विकास, व्यवसायिकता र विशाल आन्तरिक बजार तथा नेपालको प्रचुर प्राकृतिक स्रोत, भौगोलिक सामिप्यताको फाइदा आदिले मूल्य श्रृङ्खला र आर्थिक वृद्धिबीच सामञ्जस्यता ल्याउनेछ।’

बिआरआईले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको भन्दै सभामुख महराले सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण भएको बताए।

‘अहिले हाम्रो एकमात्र राष्ट्रिय एजेण्डा भनेको देशको आर्थिक विकास र जनताको समृद्धि हो’, महराले भने, ‘पूर्वाधार विकास, जलविद्युत, होटेल व्यवसाय, सूचना तथा सञ्चार र स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रहरुमा लगानीको राम्रो सम्भावना छ र चिनियाँ लगानीकर्ताको लागि हाम्रा नीतिहरु लगानीमैत्री छन्। त्यसैले नेपालमा लगानी गर्न म चिनियाँ लगानीकर्ताहरुलाई विशेष आग्रह गर्दछु।’

नेपालका प्रधानमन्त्री चीन भ्रमणमा रहेको बेला भएको रेलमार्गले जोड्ने समझदारी कोशेढुङ्गाको रुपमा रहेको भन्दै सभामुख महराले रेलमार्ग, राजमार्ग, बन्दरगाह, ट्रान्समिसन लाइन र सञ्चार सम्पर्क आदिको अवधारणासहित ल्याइएको ट्रान्स–हिमालयन मल्टिडाइमेन्सिएल कनेक्टिभिटी नेटवर्कले आर्थिक विकासका नयाँ पक्षहरुलाई उकास्न सहयोग गर्ने बताए।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरी प्रत्येक वर्ष २ मिलियन पर्यटक भित्राउने लक्ष्य राखेको भन्दै सभामुख महराले नेपालको लक्ष्य पूरा गर्न चिनियाँ पर्यटकलाई नेपाल भित्राउन चीन सरकार, ट्राभल र टुर व्यवसायीहरुबीच सहकार्य र साझेदारीको आवश्यकता भएको बताए। उनले भने, ‘पर्यटन क्षेत्रमा नेपालको लक्ष्य पूरा गर्न चीन सरकार, चिनियाँ ट्राभल तथा टुरिज्म व्यावसायिक समुदाय र लगानीकर्ताहरुको ठूलो भूमिका रहन्छ, उहाँहरुलाई नेपालको पर्यटन क्षेत्रमा अझ धेरै लगानी गर्न म विशेष अनुरोध गर्दछु।’

अरनिको राजमार्ग नेपाल र चीन जोड्ने पहिलो ऐतिहासिक मार्ग भएको चर्चा गर्दै सभामुख महराले भौगोलिक विकटताको कारणले सीमा क्षेत्रमा राजमार्ग र रेलमार्ग निर्माणमा ठूलो लगानी र प्रयासको आवश्यकता पर्ने र त्यो दुई देशबीचको आपसी समझदारी र सहकार्यले सम्भव हुने बताए।