न्युयोर्क, २३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार जर्ज पापाडोपुलसलाई जेल सजाय भएको छ । जर्जलाई १४ दिनको जेल सजाय तोकिएको हो ।
सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा सम्भावित रुसी दखल तथा साँठगाँठको छानबिनको क्रममा ट्रम्पका पूर्व सल्लाहकार पापाडोपुलसलाई वासिङ्गटन डिसीस्थित एक अदालतले १४ दिनको जेल सजाय सुनाएको छ ।
अदालतले पापाडोपुलस देशभक्त अमेरिकी रहेको तर झुठ बोलेर गल्ती गरेको अभियोग लगाएको छ । अक्टोबरमा पापाडोपुलसले रुसी अधिकारीसँग भएको आरोपित बैठकको समयका बारेमा संघीय जाँच आयोग, एफबिआईलाई ढाँटेका थिए ।
सन् २०१६ को चुनावमा रुसी दखलको आरोपमा पक्राउ पर्ने पापाडोपुलस पहिलो व्यक्ति थिए । पापाडोपुलसमाथि १२ महिनासम्म निगरानी राख्नु पर्ने अदालतले फैसला गरेको छ ।
२०० घण्टाको सामाजिक सेवा र ९ हजार ५०० अमेरिकी डलर जरिवानाको फैसला पनि गरिएको छ ।
सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियानमा जोडिनु पूर्व पापाडोपुलस लण्डनमा आधारित पेट्रोलियम एनालिस्ट थिए । उनले ट्रम्पको चुनावी अभियानमा विदेश नीति सम्बन्धी सल्लाह दिने गरेका थिए । एजेन्सी















प्रतिक्रिया