
काठमाडौं, २२ भदौ । वर्क फर नेपाल फाउण्डेशनले वैदेशिक रोजगारीको नाममा ईराकमा बेचिएका गंगामाया तामाङ, कान्छिमाया तामाङ र अर्चना थापालाई उद्धार गरेर स्वदेश फिर्ता गरेको शुक्रबार जानकारी दिएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा फाउण्डेशनले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । वर्क फर नेपाल फाउण्डेशन, अन्तरपार्टी महिला सञ्जाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर संयुक्त रुपमा यस्तो जानकारी गराएका हुन् ।
ईराकमा बेचिएकी २० वर्षीया गंगामाया तामाङ (सिन्धुपाल्चोक) २० वर्षकै कान्छिमाया तामाङ (सिन्धुपाल्चोक) र २३ वर्षीया अर्चना थापा मगर (सिन्धुली) ले रोजगारीको नाममा नेपाली दलाहरुले नेपाली चेलीहरुलाई तेस्रो मुलुकमा बेच्ने गरेको बताउँदै सरकारलाई दलालीहरुको जालो पत्ता लगाएर दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै ईराकमा बेचिएकी कान्छीमाया तामाङले विदेश जानुपूर्व बुझेरमात्रै जानुपर्ने धारणा राखेकी छिन् । त्यस्तै अर्चना थापा मगरले नेपाली महिलाहरुले बिदेश जानुपुर्व सोचबुझपछि मात्रै जानुपर्ने बताईन् । उनले भनिन्, ‘मैले भोगेको दुःख अरु नेपाली चेलीहरुले भोग्न नपरोस्, म त नेपालमै काम गरेर खानुपर्छ, यही देशमा केही गरिखानुपर्छ, मैले दलाललाई चिन्न नसकेर दुःख पाएँ, नेपालबाट दुवई भनेर मलाई लगिएको हो ।’
फाउण्डेशनले पछिल्लो एक वर्षमा विभिन्न देशहरुबाट १५२ जना नेपाली चेलीहरुको उद्दार गरेको पनि कार्यवाहक अध्यक्ष ठोकरले जानकारी गराए ।
नेपाली चेलीहरुलाई विदेशमा बेचिनबाट रोक्ने अभियानमा संलग्न आफूहरुजस्तो सामाजिक अभियन्तालाई नै दलाली र मानव तस्करहरुले ज्यान मार्नेसम्मको धम्की दिने गरेको पनि उनले गुनासो पोखे । त्यस्तै अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष उमा प्रधानले नेपाली चाडपर्वहरु सन्देशमुलुक तरिकाले मनाउनुपर्नेमा जोड दिएकी छिन् ।
त्यस्तै कार्यक्रममा रालो तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका अध्यक्ष योगेश लामाले भदौ २९ गते शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मावन बेचबिखन तथा ओसारपोसार रोकथाम गर्न, वैदेशिक विकृतिलाई न्यूनिकरण गर्न, श्रम र श्रमिकहरुको समस्या समाधान गर्न र संस्कृतिको जर्गेना गर्न सामाजिक जनचेतनामूलक तिज विशेष बृहत्त सांस्कृतिक कार्यक्रम–२०७५ गरिने जानकारी दिए ।












प्रतिक्रिया