
हेटौंडा, २२ भदौ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले क्रसर उद्योगहरुले प्रकृतिमाथि ज्यादती गरेको भन्दै मापदण्डभित्र आउनुपर्ने बताएका छन् ।
उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रलायको आयोजनामा शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री पौडेलले क्रसर उद्योगको लापरवाही र मनपरी भएको भन्दै यसको लागि प्रदेश सरकारले तय गरेको मापदण्डमा रहन निर्देशन दिएका हुन् ।
क्रसर उद्योगहरु आफैं नियमभित्र नरहेकोले अहिले समस्या भइरहेको उनको भनाइ थियो । प्रकृति सबैको सम्पत्ति भएको भन्दै उनले एउटाको मनपरी सह्य हुनै नसक्ने स्पष्ट पारे । यसैगरी अप्रत्यासितरुपमा ढुंगा, गिटि र बालुवाको मूल्य वृद्धि भएकोमा पनि मुख्यमन्त्री पौडेलले चासो व्यक्त गरेका छन् ।
राजमार्गको नजिक, ठुला नदीहरु भित्र तथा घनाबस्तीमा कुनैपनि हालतमा क्रसर सञ्चालन अनुमति नदिइने पनि उनको भनाइ थियो । यस्तै छलफल कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले क्रसर उद्योगीहरुमा रहेको व्यथिति हट्न जरुरी रहेको बताएका छन् ।
जनताको सम्पत्तिलाई अहिले क्रसर व्यवसायीले मनपरी गरेको भन्दै यस्ता कुरामा ध्यान दिन उनले आग्रह गरे । क्रसरहरुले कर छली गरिरहेको बताउँदै मन्त्री जम्कट्टेलले पहिला करका दायरामा आउनुपर्ने स्पष्ट पारे ।












प्रतिक्रिया