
काठमाडौं, २३ भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँेलले हचुवामा कर लगाईदा देशैभर हंगामा मच्चिएको बताएका छन् । सिन्धुली जिल्ला समन्वय समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा कर प्रशासनका विज्ञ समेत रहेका डा. कँडेलले भने, ‘कर ज्यादै संवेदनशील चिज हो, यसको प्रभाव एउटा सत्ता फालेर अर्को सत्ता ल्याउने औजारको रुपमा समेत विभिन्न मुलुकमा अभ्यास भएको छ ।’
हचुवामा करका दर निर्धारण नगरी, अध्ययन गरेर जनतालाई सेवा दिएर मात्र कर लगाउनु पर्ने उनको धारणा छ । उपाध्यक्ष कँडेलले देशलाई कस्तो बनाउने भन्नु कुरा स्थानीय तहको कार्यशैलीमा भर पर्ने बताउँदै कसरी साधन र स्रोत जुटाउने, जनतालाई समस्या नपर्नेगरी कर लगाउने कुरामा ध्यान दिन आग्रह गरे । उनले करले देशैभर हंगामा सिर्जना भएको बताउँदै पछिल्लो समय सिर्जना भएको कति भ्रम कति वास्तविकता हो भन्ने कुरा वित्तिय आयोगले अध्ययन गरिराखेको पनि बताए ।
उपाध्यक्ष कँडेलले सिन्धुली जिल्लामा निर्माण हुने ठूला राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण गरेका छन् । सुनकोसी–मरिण डाइभर्सन र खुर्कोट–चियाबारी सुरुङमार्गको निरीक्षण गर्दै उपाध्यक्ष कँडेलले यी परियोजनाहरु समयमै शुरु गरेर सम्पन्न गरिनुपर्ने औंल्याए । मध्यपहाडी लोकमार्गको हेटौंडा–चतरा खण्डको समेत अवलोकन गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहयोगको जरुरत पर्ने बताए । उनले सिन्धुलीको समृद्धीसँग जोडिएको यी परियोजनाहरुले समग्र सिन्धुलीको मात्र नभई प्रदेश नम्बर दुईकाको समेत विकास भई देशको आत्मनिर्भरतामा टेवा पुग्ने बताए ।
हेटौंडा–चतरा खण्डको मरिणखोला पुलको अवलोकन गर्दै उपाध्यक्ष कँडेलले पुल उद्घाटन समारोहमा सहभागीता जनाए । पुल उद्घाटनका अवसरमा उनले योजनाहरु शुरु गर्ने र बर्षौँसम्म नबन्ने प्रवृत्ति तोड्दै मरिण खोलामा निर्माण सम्पन्न भएको ४०० मिटर लामो पुल डेढ वर्ष अगावै काम सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले परम्परागत प्रवृत्ति तोड्दै डेढ वर्षअघि निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई पनि धन्यवाद दिए ।
कसैको खल्तिको चिटबाट योजना बनाउने दिन गए : डा. रामकुमार फुयाल– सदस्य राष्ट्रिय योजना आयोग
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आयोगले दीर्घकालिन सोच सहितको तथ्यपरक नीतिमा आधारित योजना बनाउने र त्यसलाई तदारुकताका साथ कार्यान्यवन गराउने बताए ।
उनले हाम्रा अग्रजहरुले अघि सारेका राम्रा उत्पादनशिल र भविष्यमा त्यसबाट देशलाई रुपान्तरण गर्न सक्ने सम्भावना भएका चिजहरुलाई हामीले फिल्टर गरेर कार्यान्वयन गर्छौँ भने ।
सदस्य फुयालले आयोगले नयाँ कामको सुरुवात गरेको बताउँदै भने, ‘अबको पाँच वर्षमा हामी कहाँ पुग्ने, १० वर्षमा के उपलव्धी हासिल गर्ने र २० वर्षमा हाम्रो भिजन के हुने र अनन्तकालमा हामी कहाँसम्म पुग्ने भन्ने दृष्टान्त हेरेका छौं ।’















प्रतिक्रिया