
काठमाडौं, २२ भदौ । एनसीसी बैंक लिमिटेडका सञ्चालक विष्णु प्रसाद धितालले राष्ट्र बैंक र राज्य प्रशासनले झुटो जालसाँजी रचेर आफूलाई अन्यायमा पारिएको जिकिर गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धितालले एनसीसी बैंकका संस्थापकद्धय जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ मिलेर एक अर्ब ५१ करोड रुपैयाँ बैकिङ कसुरको जालसाँजी रचेर आफूलाई फसाएको बताए ।
‘मलाई एनसीसी बैंकका केही सिमित व्यक्तिको स्वार्थका कारण फसाईयो, मेरा बारेमा जतिपनि समाचार आए ती सबै सूचनाहरु एकतर्फी थिए, सिआईबीले जे भन्यो त्यहीमात्रै लेखियो, मेरो बारेमा मिडियाबाट कोहीपनि साथीहरु जान्नसमेत आएनन्, मलाई ४ महिनाको अन्तरालमा विभिन्न झुठा मुद्दा लगाएर दुःख दिने काम गरियो’, उनले भने, ‘जेलभित्र गोली ठोक्छु भन्नेसम्मको धम्कि दिईयो, लोकतन्त्रमा अन्याय हुँदैन भन्ने बुझेको थिएँ तर हुँदो रहेछ । मैले आफैले अनुभव गरेँ । म त लोकतन्त्रको लागि लडेर आएको व्यक्ति हुँ । लोकतन्त्र ल्याउनको लागि मेरो पनि ठूलो लगानी छ ।’
राज्यले आफूलाई आतंककारीको शैलीमा अपहरण गरेको सुनाउँदै उनले भने, ‘बोर्डको बैठकबाटै मलाई अनुसन्धानको नाममा ४ महिना जेलमा राख्ने काम भयो, मेरो मात्रै नभएर सिंगो काँग्रेसको समेत बद्नाम गराउने गरि गलत हल्ला फैलाईयो, मुटुको शल्यक्रिया गरेको स्थितिमा पनि अस्पतालमा जान दिईएन, प्रधानमन्त्री र अख्तियारले नछोड्नु भनेको भन्दै विभिन्न बहाना बनाएर अनुसन्धानको नाममा मलाई दुःख र यातना दिने काम भयो, म निरंकुशताको बिरुद्धमा जेल जीवन भोगेको मानिस हुँ, मैले गल्ती गरेको छैन, यस्ता अन्यायपूर्ण कदमकाबिरुद्ध निरन्तर लडिरहनेछु ।’
रारा विकास बैंक, रोयल मर्जेन्ट फाईनान्स र अपि फाईनान्सबीचको मर्जपछि बनेको एनसीसी बैंक मिलेर एपेक्स डेभलपमेन्ट बैंक निर्माण भएको बताउँदै धितालले आफूलाई षड्यन्त्रपूर्वक तरिकाले फसाईएको बताए ।
उनले २०५४ सालदेखि विद्युतीय सफा टेम्पु सञ्चालन गरेर बैंकमा सुरक्षित लगानी गर्नुपर्छ भन्ने मान्यताका साथ आफू बैंकमा आकर्षित बनेको बताउँदै भने, ‘२०६१ सालमा रारा विकास बैंक स्थापना हुँदा २५ लाख लगानी गरेको थिएँ, त्यसपछि विस्तारै बैंक मर्ज हुनेसम्म पुगियो, एनसीसीका संस्थापक सञ्चालकहरु जीतबहादुर श्रेष्ठ र लक्ष्मि बहादुर श्रेष्ठले बैंक मर्ज गराएको झोंकमा राष्ट्र बैंक र सरकारका केही व्यक्तिहरुलाई गलत प्रभावमा पारि मलाई फसाएका हुन, आजकै मितिबाट सञ्चालकमा नरहनेगरि राजीनामा दिएको जानकारी गराउँदछु ।’















प्रतिक्रिया