
ढाका, २१ भदौ । बङ्गलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङ्गलादेश भ्रमणमा रहेका बेला बङ्गलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।
उसले २०४० भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने योजना अघि सारेको हो । बङ्गलादेशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट बिजुली आयात गर्ने उल्लेख छ ।
ढांकामा बिहिबारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट बिजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्तरुप पाउने दाबी गरिन् । उनले भनिन्, ‘नेपाल र भुटानबाट बिजुली आयात गर्ने हाम्रो कोशिस जारी छ, नेपालसँग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौँ ।’ उनले बङगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारी समेत दिइन् ।
नेपाल र बङगलादेशबीच गत १० अगस्टमा इनर्जी कोअपरेशनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री बर्षमान पुन र बङगलादेशका उर्जामन्त्री नसरुल हमिदबीचले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए ।
उर्जामन्त्री पुनले नेपालमा उत्पादित बिजुलीको लागि बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आएका छन् । उर्जामन्त्री पुनले आगामी १० बर्षमा नेपालले १५ हजार विद्युत उत्पादन गर्ने सरकारको योजना रहेकोे भन्दै आफूहरु बङगलादेशमा विद्युत निर्यात गर्न तयार रहेको धारणा राखे । ‘हामी १० बर्षमा १५ हजार बिजुली उत्पादन गरिसक्छौ, त्यसमा ५ हजार बिजुली बङग्लादेशलाई बेच्न हामीलाई समस्या हुँदैन’ मन्त्री पुनले भने ।
बङग्लादेशको तीन दिने भ्रमणका क्रममा ढाका पुगेका मन्त्री पुनले उर्जा र जलविद्युत क्षेत्रमा गर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसँग द्धिपक्षिय वार्ता गर्दैछन् । उनले शुक्रबार नै प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया