
-निशानदाजु भट्टराई
घोराही,भदौ १९ । दाङमा कर्तव्य ज्यान मुद्दामा एक जनालाई प्रहरीले ७ बर्ष पछि पक्राउ गरेर सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका १० दक्षिण अम्राईमा २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी ३६ बर्षिय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका १ भालुबाङ घर भएका ३७ बर्षिय किरण भनिने कुमबिर बुढालाई प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको हो ।
हत्या गरिएका घर्ती रुकुम सिस्ने गाउँपालिका ४ घर भई तत्कालिन अवस्थामा दक्षिण अम्राईमा माछा, अल्लो धागोको व्यवसाय गर्दै आएका थिए भने हत्याको अभियोग लागेका बुढा तत्कालिन अवस्थामा घोराही १० दक्षिण अम्राईमा बसोबास रहेपनि हाल भालुबाङमा बस्दै आएको दाङ प्रहरीले पत्रकार सम्मेलन गरेर जनाएको छ ।
घर्ती र बुढाले संयुक्तरुपमा दक्षिण अम्राईमा माछा र अल्लो धागोको व्यवसाय गर्दै आएकोमा ३ लाख रुपैयाँको हिसाव नमिलेपछि घर्तीलाई बुढाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी पोख्रेलले बताए ।
तत्कालिन अवस्थामा पीडित परिवारले प्रहरीमा गोकर्ण गुरुङको नाममा किटानी जाहेरी दिएपनि उनि दोषी नभएको भन्दै प्रहरीले थप अनुसन्धान गर्दै जादा प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको टोलीले बुढालाई बाग्लुङको ढोरपाटन नगरपालिका ९ बाट पक्राउ गरेको थियो । हत्याको अभियोग लागेका बुढाले घटना पश्चात फरार रही ढोरपाटनमा आलु खेती गर्दै आएका थिए ।
अभियुक्त बुढालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि कर्तव्य ज्यान मुद्धामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको एसपी पोख्रेलले बताए । उनले पुरानो मुद्दाको सुक्ष्मरुपमा अध्ययन अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । एसपि पोख्रेल सिआइबीबाट केही समय पहिले दाङको प्रहरी प्रमुखका रुपमा आएका हुन् ।












प्रतिक्रिया