५ कार्तिक २०८३, बिहिबार

कैंचीको लत : जसले १५ वर्षदेखि अभिनेता हमालको कपाल काटिरहेका छन्

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रदिप अधिकारी

काठमाडौं । राजधानीको कोटेश्वरजनिक एउटा सैलुन छ- सेलिब्रेटी पार्लर । नाम मात्रै सेलिब्रेटी पार्लर होइन, त्यसमा कैंची चलाउने नाई राम ठाकुर पनि सेलिब्रेटी हुन् । र, उक्त पार्लरमा कपाल कटाउन सेलिब्रेटीहरु बाक्लै संख्यामा आउँछन् । कैचीमा कला देखाउने ठाकुर फिल्मी क्षेत्रसँग निकै नजिक छन् ।

बाल्यकालमै उनले कैंची समाए । ८-१० वर्षको उमेरमा ठाकुरले गाउँघरका मानिसहरुको कपाल तथा दाह्री काट्थे । त्यसपछि उनलाई कैंचीको लत लाग्यो ।

पढाइमा मन नगएपछि १२ वर्षको उमेरमै ठाकुर काठमाडौं हानिए । वि.सं. २०३९ सालमा सर्लाही जिल्लाको जमुनिहामा जन्मिएका ठाकुरको परिवार ठूलो भएका कारण आर्थिक स्थित नाजुक थियो । आर्थिक स्थिति उकास्न उनीभन्दा पहिले दाजु घरबाट निस्किए । दाजुले कमाउन थालेपछि अलि राहत पाएका ठाकुरका बाबुले खेतीकिसानको बलमा छोराको उज्जवल भविष्यका लागि उनलाई पढ्न कर गरिरहे ।’ बुबाले पढाउन धेरै प्रयास गर्नुभयो तर मलाई पढ्न पटक्कै मन थिएन,’ बाल्यकालतिर फर्किँदै उनले भने, ‘त्यसपछि गाउँको दाईसँग म काठमाडौं आएँ ।’ आफू बच्चै भएका कारण गाडीमा भाडा पनि नलिएको उनी बताउँछन् । राजधानीमा आफ्नै दाई भएका कारण उनलाई घरबाट भाग्न आँट आयो । र, पुन: कैंचीसँगै लुकामारी खेले । त्यसपछि उनले काठमाडौंलाई कर्मथलो बनाए ।

पुर्ख्यौली पेसा नै कपाल काट्ने भएपनि सबैले यसमा भविष्य देखेका हुँदैनन् । बच्चाबेलाको सपना सुनाउँदै उनी भन्छन्, ‘पढ्न जाँगर नचलेपछि मैले नाई पेसाको आडमा जीवन धान्ने सपना देखेका थिएँ ।’

गाउँको बजारमा कपाल काट्न सिकेका ठाकुर अहिले नेपाली फिल्मका नामी हस्तीहरुको कपाल काट्छन् ।

गाउँमा कपाल काटेपनि उनी त्यति सारो निखारिएका थिएनन् । उनले स्तरीय कपाल काट्न काठमाडौंमै सिकेका हुन् । सिकाइका दिनबारे उनी खुल्छन्, ‘कपाल काट्न सिक्ने क्रममा कतिको कान काटेँ , कहिले नाक काटेँ । कोही मानिस रिसाउँथ्यो त कोही मानिस थर्काउँथ्यो तरपनि मलाई हातपात गरेनन् । मानवताको नाताले मलाई अब यसो नगर्नु भनेर सम्झाए मात्र ।’

उनले महिला पुरुष दुवैको कपाल काट्छन् । पुरुषको कपाल काट्न थालेको लामो समयपछि उनले महिलाको कपाल काट्न थालेका हुन् । सुरुमा बालिकाको कपाल काट्दा उनले बिगारिदिए । बिग्रेला है भनेर उनलाई बालिकाको बाबुले पहिल्यै भनेका थिए । बिग्रेपछि उनी डराए । तर, उनको बाबुले पनि अबदेखि यस्तो नगर्नुबाहेक केही भनेनन् ।

कपाल काटेर उनले महिनाको लाखभन्दा बढी कमाउँछन् । सेलिब्रेटीहरुसँग लिने दर भने एकिन छैन उनको । कोहीले हजार दिन्छन् कोहीले त्योभन्दा बढी पनि । आफ्नो काम र कमाइप्रति आफू सन्तुष्ट भएको बताउँछन् उनी ।

निखिलसँग भेट

नेपाली चलचित्र क्षेत्रमा निखिल उप्रेतीलाई ‘एक्सन स्टार’को रुपमा लिइन्छ । तिनै उप्रेतीको फिल्म ‘पिजँडा’ले धमाकेदार व्यापार गर्‍यो । चर्चा पनि ह्वात्तै चुलियो । पोष्टरमा देखेका निखिललाई हलमा ठाकुरले पनि नियाले । उनलाई निखिलको अभिनयले छोयो । निखिलसँग भेट्दाको क्षण ठाकुर सम्झिन्छन्, ‘पिँजडा हिट भएपछि मात्र थाहा भयो उहाँ त हाम्रै गाउँका रहेछन् । अनि म उहाँलाई भेट्न गएँ ।’

निखिलसँग भेट्दा उनले राम्रो व्यवहार गरे । अझ उनले ठाकुरलाई फिल्मलाइनमा काम गर्न हौस्याए । एकदिन ठाकुरले घरमै गएर निखिलको कपाल काटे । सेलिब्रेटीको कपाल काट्न पाउँदा उनी मख्ख थिए । उनको कामलाई निखिलले मन पराए । आफ्नो पेसाप्रति गर्व गर्न लायक ठाने उनले । त्यसबेला निखिलले उनलाई भनेका थिए, ‘तिमी राम्रो कपाल काट्दो रहेछौ । बिस्तारै सबै कलाकारको कपाल काट्ने मान्छे बन्नुपर्छ ।’

उनले निखिलको सुझावलाई स्वीकार्दै हस् भने ।

निखिलको कुरालाई दिमागमा राखे उनले । उनी निखिलसँगै शूटिङमा जान थाले । निखिलको संगतले उनको फिल्मका कलाकारसँग चिनजान भयो ।

राजेशसँग भेट- ‘करियरको टर्निङ प्वोइन्ट’

एउटा संयोग- निखिल र महानायक राजेश हमाल एउटै शूटिङ सेटमा थिए । जहाँ निखिलसँगै ठाकुर पनि पुगेका थिए । त्यहीँ हो उनले राजेश हमाललाई प्रत्यक्ष देखेको । निखिलले त्यसबेला राजेशलाई ठाकुरबारे भने, ‘यो हाम्रो गाउँको भाई राम ठाकुर हो । कपाल काट्ने पेसा गर्छ । राम्रो कपाल काट्छ ।’

निखिलले राजेश हमालसँग चिनजान गराउँदा उनी प्रफुल्लित भए ।

राजेशले त्यसैबेला उनको अगाडी नै भने, ‘ए ल ल, त्यसो भए मेरो पनि कपाल काटिदेउ ।’

उनले हुन्छ नभन्ने कुरै भएन । अझ हमालले कपाल काट्नकै लागि घरमा बोलाउँदा उनी चकित परे । सम्झे- रिलमा देखेको हिरोलाई भेट्नु ठूलो थियो, अझ  कपालै काट्न पाउनु त मेरा लागि ठूलो कुरा हो ।

राजेशको कपाल काट्न लाग्दा उनलाई खुशी भन्दा डर बढी लाग्यो । त्यो अविस्मरणीय क्षण सम्झँदै उनी भन्छन्, ‘महानायकको कपाल काट्दा निकै डर लाग्यो ।’ महानायकको कपाल काट्न पाउनु उनी भाग्य ठान्छन् । हमालको कपाल काटिरहँदा उनको मनमा डरले भने डेरा जमाइरहेको थियो । कतै बिग्रियो भने ? मन परेन भने ? तर, उनको डरले मुर्त रुप लिन पाएन । राजेशले पनि ठाकुरको कपाल कटाइ मन पराए । राजेशले नै नियमित रुपमा आफ्नो कपाल काट्न भने । राजेश हमालको कुराले उनको ह्वंशले ठाउँ नै छोड्यो । खुशीले सीमा नाघ्यो । त्यसपछि हमालको कपालमा राम ठाकुरबाहेक अरुको कैंची चलेको छैन ।

त्यतिबेलासम्म उनले आफ्नै सैलुन खोलेका थिएनन् । एकदिन राजेशले भने, ‘तिमी राम्रो कपाल काट्छौं । चिनजान पनि राम्रो भइसकेको छ । अब आफैं सैलुन खोल ।’

उनले हमालको सुझावलाई आत्मसात गरे । २२ सयको लगानीमा उनले त्यसबेला कोटेश्वरमा सैलुन खोले । त्यसपछि उनी सामान्य नाईबाट हेयर डिजाइनर बने ।

एकपटक उनलाई उनको भाषामा सर्लाहीकै नाईले गद्दार गरे । आफ्नो सैलुन उद्घाटनका लागि राजेश हमाललाई उपलब्ध गराउन आग्रह गरे । उनले अनुनयविनय गरेपछि ठाकुरले हुन्छ भनिदिए । सैलुको उद्घाटन पनि भयो । उद्घाटनको क्रममा राजेशको कपाल रामले नै काटे । राजेशको कपालमा सैलुनवालालाई कैंची चलाउन दिएनन् ठाकुरले । तर,  फोटो मात्र खिच्नका लागि तिनले राजेशको कपालमा कैची राखे । उनको चित्त बुझ्यो ।

त्यसको भोलिपल्ट उनले पत्रिका सरर पढे । पत्रिकामा राजेशको कपालमा कसैको कैंची भन्दै समाचार छापिएको भेटे । ती व्यक्ति उक्त फोटोको प्रयोग गर्दै राजेशको नियमित हजाम मै हुँ भन्दै मिडियाबाजी गरेछन् । पछि उनले पुन: त्यो खबर झुटो हो भने । पत्रिकाले फेरि छाप्यो राजेशको नियमित हजाम राम ठाकुर नै हुन् । त्यसपछि उनलाई कहिलेकाहीँ लाग्ने गर्छ- मानिसलाई गुन लगाउनु चाहिँ हुन्न ।

ठाकुरले महानायक राजेश हमालाको कपाल काट्न थालेको लगभग १५ वर्ष भयो ।

उनी राजेशका नाई मात्र होइनन्, परिवारकै सदस्यजस्ता छन् । राजेशसँग प्राय: शूटिङ स्थलमा उनी पुगेकै हुन्छन् । राजेशका कार्यक्रमहरु पनि उनी सँगै जान्छन् । उनले हरेक दशैंमा राजेशको हातबाट टीका थाप्छन् र आशिर्वाद ग्रहण गर्छन् ।

उनी सुनाउँछन्, ‘राजेश दाले मलाई परिवारको सदस्यको रुपमा लिनुहुन्छ । माया गर्नुहुन्छ । दुखदुखमा साथ दिनुहुन्छ ।’ एक पटक सैलुनमा राम्रो कमाइ हुन छाड्यो । उनले विदेश हुत्तिने मनसाय बनाए । यो कुरा निखिल र राजेशलाई पनि सुनाए । उनीहरुले नेपालमै बस पछि मिल्दै जान्छ भनेपछि यतै बसे ।

कपालमा करियर बनाएका ठाकुरले नेपालमा लगभग ८० प्रतिशत सेलिब्रेटीलाई कैंचीको कला देखाइसकेका छन् । जसमा राजेश हमाल, निखिल उप्रेती,  हरिवंश आचार्य, सविन श्रेष्ठ, सौगात मल्ललगायत अन्य थुप्रै छन् । त्यस्तै बलिउडका सयाधि सिन्दे, रंजित, सेहवाज खान, रवि किसनलगायतका पनि कपाल काटिसकेका छन् । अबको सपना के भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘बलिउड छिर्ने सपना छ । त्यो म जसरी पनि पूरा गर्छु ।’

अर्को शौख

बाल्यकालदेखिकै सपना कपाल काटेर चिनिनु थियो उनको । त्यो सपना पूरा हुँदै गइरहेको छ । तर, उनको यसबाहेक अन्य शौख पनि रहेछन् । उनी तराईमा डुबान पर्दा होस् या डेंगुको भाइरल होस्, राहत बोकेर कुदिहाल्छन् । उनलाई दुख परेका मानिसहरुलाई सहयोग गर्न पाउँदा आनन्द लाग्छ ।

करिब डेढ दर्जन नेपाली फिल्ममा उनको अभिनय देख्न सकिन्छ । दशगजा, दबाब, मायाको बारी, भीमदत्त लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।

उनलाई गायनमा पनि रहर छ । उनी अहिले एक एल्बमको तयारीमा छन् । एल्बममा भोजपुरी र नेपाली गरी पाँच गीत समावेश छन् । एल्बममा रहेका गीत ठाकुर आफैंले लेखेका हुन् भने मोडलिङमा पनि आफैं देखिने सुरमा छन् । उनको अपोजिटमा महिमा रेग्मी देखिनेछिन् ।