
काठमाडौं, १७ भदौ । सप्तरीको सप्तकोशी नगरपालिकाका विकासलगायतका परियोजनामा सल्लाह दिन र केन्द्रसँग सिधा सम्पर्कका लागि सप्तकोशी नगरपालिका–काठमाडौं सम्पर्क समिति गठन भएको छ ।
नगर प्रमुख उत्तम गौतमको प्रयासमा उक्त नगरपालिकाबाट काठमाडौं आई विभिन्न क्षेत्रमा विज्ञता र विशेषज्ञता हासिल गरेका व्यक्तिहरू समितिमा रहेका छन् ।
पूर्व शिक्षा अधिकारी शंकर कार्कीको संयोजकत्व तथा कानुनकर्मी रामचन्द्र सुवेदी सचिव रहेको समितिमा धनराज पोखरेल, टिका थापा, तिर्थ आचार्य, गोमा घिमिरे, मोती काफ्ले, विनोद ढकाल, प्रमोद भट्टराई, खगेन्द्रप्रसाद निरौला, गीता घिमिरे, सूरज खड्का, राम बराल र सुमित चौधरी सदस्य छन् ।
‘यस्तो समितिले केन्द्रसँग सप्तकोशी नगरपालिकाका समस्या, समाधानका लागि विकासका आयोजना, नगरपालिकाबाहेकले गर्ने काममा समन्वय गर्नेछ’, राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले भने,‘त्यसका लागि समितिसँग निरन्तर बसेर छलफल गरी विकासको मुद्दामा सहयोग गर्नेछु ।’
नगरपालिकामा सीमति स्रोत साधन रहेका कारणले विकासका लागि पर्याप्त बजेट नभएको बताएका मेयर गौतमले भने,‘५ बर्षको अवधिको एक बर्ष वितेको छ । अबको चार बर्षका लागि अल्पकालिन र दिर्घकालिन विकास र सम्भाव्यतामा समितिले विज्ञतासहितका सहयोग गर्नेछ ।’
राज्यसँग विकास र कार्यक्रमका लागि लड्ने बताउँदै प्रतिनिधि सभा सदस्य सरिता गिरीले सप्तरीको विकासका लागि नगरपालिकाहरूको स्तरोन्नतीको कार्यक्रम आवश्यक रहेको बताइन् । कार्यक्रममा कञ्चनरुप नगरपालिकाका मेयरको पनि सहभागीता रहेको थियो । कार्यक्रम काठमाडौं–सप्तरी सम्पर्क मञ्चको समन्वयमा भएको थियो ।












प्रतिक्रिया