१२ कार्तिक २०८३, बिहिबार

गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । सफ्टवेयर बिग्रिँदा गरिबी निवारण कोषको ३१ अर्ब रुपैयाँको हिसाबकिताब नष्ट भएको छ । कोषले आन्तरिक प्रयोजनमा उपयोग गर्दै आएको एमआइएस नामको सफ्टवेयर बिग्रिँदा हिसाबकिताब राखिएका डाटा नष्ट भएको हो ।

०६० देखि कोषले सञ्चालन गरेका सबै कार्यक्रमको विवरणसहितका डाटा नष्ट भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कोषले सञ्चालन गर्दै आएका परियोजनाहरूको म्याद सकिन झन्डै ५ महिना बाँकी छँदा सफ्टवेयर बिग्रिएको छ । आगामी डिसेम्बर ९पुस०मा कोषका परियोजना सकिनेछन् । गत ३० साउनमा एक्कासि सफ्टवेयरमा क्षति पुगेको कोषको भनाइ छ ।

अहिलेसम्म डाटा पुनस्र्थापनाको प्रयास असफल हुँदै आएको छ । कोषका प्रमुख कार्यकारी निर्देशक नहकुल केसीले सफ्टवेयरमा क्षति हुँदा कोषमा समस्या आएको बताए । तर, विस्तृत विवरण भने बताउन चाहेनन् ।

कोषले सूचना व्यवस्थापन प्रणाली अधिकृत मोहन जिसीलाई दुईपटक स्पष्टीकरण सोधिसकेको छ । ३ भदौमा पहिलोपटक कोषमा रहेको सूचना व्यवस्थापन प्रणालीअन्तर्गतको एमआइएस सिस्टम के कति कारणले क्षति भएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

५ भदौमा जिसीले कार्यकारी निर्देशक केसीलाई जवाफपत्र बुझाएका पनि थिए । तर, चित्तबुझ्दो जवाफ नआएपछि बिहीबार दोस्रोपटक स्पष्टीकरण सोधिएको छ । ‘तपार्इंलाई के कति कारणले निलम्बन नगर्नुपर्ने हो’ भन्दै पुनः स्पष्टीकरण सोधिएको हो । जवाफ तीन दिनभित्र दिन भनिएको निर्देशक केसीले बताए ।

जिसीले भने सफ्टवेयर डाटा रिकभर गर्न १५ लाखभन्दा बढी आवश्यक पर्ने बताउँदै आएका छन् । उनले उक्त रकम उपलब्ध गराइदिन लेखालाई आग्रह पनि गरेका छन् ।

तर, लेखाले पटक–पटक सफ्टवेयरकै नाममा एक करोडभन्दा बढी रकम खर्च भइसक्दा पनि डाटा सुरक्षित नभएकाले क्षतिको अध्ययन नभई रकम दिन नसक्ने बताएको छ । जिसीले लेखासँग रकम मागेपछि र लेखाले नदिएपछि नै सफ्टवेयरमा समस्या भएको विषय बाहिरिएको हो ।