२१ कार्तिक २०८३, शनिबार

घर नै बन्यो मसानघाट, पीडित परिवारलाई प्रशासनद्वारा राहत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, १३ भदौ । सल्यानको बागचौर नगरपालिका–४ सेतोगुराँसमा नगरपालिकामा घर भत्किएर दलिन भाँचिदा एउटै परिवारका ५ जनाको ज्यान गएको छ ।

बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँसमा घरको भित्ता भत्किएर दलिन भाँचिदा घरमा सुतिरहेका एकै परिवारका ५ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा घरमुलि ४० बर्षिय बुवा रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षिया रामकली कामी, छोरीहरु ७ वर्षिया गंगा विक, ६ वर्षिया प्रमिला र ४ वर्षिय रुपलाल रहेका छन् । अर्की छोरी ९ वर्षिया काइली छोरी सुनिता भने सामान्य घाईते भएकी छन् । रामलालका ६ छोरी र एक छोरा मध्ये जेठी छोरीको भने विहे भैसकेको थियो ।

लगातारको वर्षाका कारण घरको भित्ता कमजोर बनेर भत्किदा घरको दलान समेत भाँच्चिएपछि घरको माथिल्लो तलामा सुतिरहेका उनीहरु तल्लो तलामा खसेका थिए । मृतकहरुको स्थानिय घाटमा आज दाहसंस्कार गरिएको छ ।

यसैबीच, एकै घरका ५ जनाको मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय सल्यानले राहत रकम उपलब्ध गराएको छ । घटनास्थलमा नै पुगेका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक बीरेन्द्र बहादुर शाही लगायतको टोलीले जिल्ला प्रशासन कार्यालयको तर्फबाट राहत स्वरुप १ लाख रुपैँया प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ढकालले मृतक रामसिंह कामीका बुवा ७० बर्षिय देबिराम बिकलाई राहत रकम हस्तान्तरण गरेका हुन् । यस्तै बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी सहितका जनप्रतिनिधिहरुको टोली पनि घटना स्थल पुगेको थियो ।

नगरप्रमुख बुढाथोकीले मृतक रामसिंहको परिवारलाई नगरपालिकाले पनि राहत उपलब्ध गराउने बताएका छन् । उनले तत्काल नगर कार्यपालिकाको बैठक बसेर राहत उपलब्ध गराउने बताएका हुन् ।