
दाङ, ११ भदौ । घोराहीकी बन्दना डिसी कार्यक्रम सुरु हुन अगाडी नै सुटुक्क आईन् र पत्रकार महासंघको हलमा बसिन् । एकैछिनमा हल खचाखच भरियो । कार्यक्रम सुरु भयो । कार्यक्रम सुरु भैसकेपछि सबैको आँँखा बन्दनामाथी परे । किनकी उनी थिईन् सविन प्रियासनको उपन्यास सेल्फीको प्रमुख पात्र ।
उदाहरण समूह, नेपालले सेल्फी उपन्यास विमोचन कार्यक्रम आयोजना गरेको थियो । आफ्नै जीवनको भोगाईहरुले बुनिएको उपन्यासको विमोचनमा आएकी बन्दना कतिबेला भाबुक भनिन् भने कति बेला उत्साहित । पत्रकार तथा साहित्यकार प्रियासनले लेखेको उपन्यास आफ्नै हातले विमोचन गर्न पाउँदा उनलाई छुट्टै आनन्दको महसुस भएको बताईन् । छोरीको जीवनमा लेखिएको उपन्यास विमोचन हुँदै गर्दा बन्दनाको आमा सुशीला डिसीले धेरै पटक आँखामा आँसु ल्याइन् ।
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम, व्यवसायी खड्ग बुढाथोकी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, उदाहरण समूह, नेपालकी अभियान्ता संगीत मगरसंगै पुस्तकको विमोचन गर्दै गर्दा ‘नर्भस फिल’ गरेकी बन्दना कार्यक्रमभर आकर्षणको केन्द्र बनिन् ।
एउटा हातमा आएको समस्याका कारण आफूलाई कमजोर महसुस गर्दै आएकी बन्दनाले भोगेको अपमान, पीडा र संघर्षका कथाहरुको विषयमा लेखिएको उपन्यासको विमोचन गरिएको हो । काठमाडौँ स्थित ईन्डीको ईन्कले प्रकाशन गरेको पुस्तक दाङमा उदाहरण समूहले विमोचन गरेको हो ।












प्रतिक्रिया