
झापा, ८ भदौ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुखी र समृद्ध मुलुक निर्माणका लागि सरकार अघि बढेको बताएका छन् ।
झापाको बिर्तामोड नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गर्न शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणका लागि कार्ययोजना बनाएर सरकार अघि बढेको बताए । ‘मुलुक समृद्धिको यात्रामा छ,’ उनले भने, ‘धेरै समस्या आइरहेका छन्, तर यो यात्रा रोकिनेवाला छैन ।’
उनले सरकार कछुवा गतिमा नभई चितुवाको गतिमा अघि बढिरहेको बताए । ‘सरकार किस्ताबन्दीमा होइन, तीव्र गतिमा अघि बढिरहेको छ,’ उनले भने, ‘विकासको गतिमा गुणात्मक फड्को मार्नुपर्छ ।’ सरकारले जनताको ढाड सेक्ने गरी कर लियो भनेर भ्रम सिर्जना गरिएको मन्त्री कार्कीले बताए ।
‘टमाटरमा कर, डोकोमा कर के–के भनेर भ्रम सिर्जना गरिएको छ,’ उनले भने, ‘त्यस्तो केही होइन, हामी जनताका सेवक हौँ, शासक होइन ।’
उनले गल्तीवश कुनै स्थानीय सरकारबाट गल्ती भएको भए त्यसलाई सच्याइने बताए । व्यापारिक केन्द्रका रुपमा विकास हुँँदै गएको बिर्तामोड नगरपालिकामा आधारभूत समस्या समाधानमा समस्या देखिएको बताउँदै उनले भने, ‘केन्द्रीय सरकारसँग सहकार्य गरेर बिर्तामोडलाई समृद्ध बनाउन सहयोग गर्छु ।’












प्रतिक्रिया