काठमाडौं । नेपाली चलचित्र ‘गोपी’ साइन गरेकी नायिका वर्षा सिवाकोटीले चलचित्रलाई लात हानेकी छिन् । निर्माण पक्षले होच्याउने व्यवहार गरेपछि चलचित्र साइन गरेर साइनिङ एमाउन्ट समेत लिएकी नायिका सिवाकोटीले ‘गोपी’लाई छाडेकी हुन् । सिवाकोटीले फिल्म छाडेपछि छायांकनमा जानु अगाडि नै ‘गोपी’ फिल्म विवादमा परेको छ ।
निर्माण पक्षले चलचित्र सिवाकोटीको हातबाट फुस्किएर अर्की नायिका वर्षा राउतको हातमा पुगेको दाबी गर्दै आएको छ । सिवाकोटीको हातमा आइसकेको चलचित्र राउतको हातमा पुगेपछि यी दुईको टकराव सतहमा आएको चर्चा छ ।
दीपेन्द्र लामाले निर्देशन गर्न लागेको ‘गोपी’को छायांकन भदौ १ गतेबाट सुरु हुने थियो । चलचित्रको छायांकन भदौ ३ गतेबाट सुरु हुने बताइएको छ । निर्देशक लामालाई चलचित्र क्षेत्रमा ‘घमण्डी’ व्यक्तिका रुपमा धेरैले चिन्ने गर्छन् । लामाको व्यवहारलाई फिल्म क्षेत्रमा धेरैले मन पराउँदैनन् ।
चर्चामा रहेकी नायिका सिवाकोटीका लागि ‘गोपी’ चलचित्र छाड्नुले खासै समस्या पारेको छैन । सिवाकोटीले संझौता गरिसकेको चलचित्र छाडेपछि निर्मार्ण पक्ष दिक्क भएको छ ।
नायिका सिवाकोटी ‘गोपी’को वर्कशप चलिरहँदा निर्माण टिमलाई थाहा नै नदिई पोखरातर्फ लागेकी हुन् । त्यसपछि उनको असन्तुष्टि निर्माण पक्षसँग रहेको कुरा बाहिर आएको थियो ।
नायिका सिवाकोटीले ‘गोपी’मा आफूलाई थोरै भूमिका दिएको भनेर असन्तुष्ट थिइन् । अर्की नायिका सुरक्षा पन्तलाई ‘गोपी’मा धेरै भूमिका दिइएको छ । पन्तभन्दा सिवाकोटी सिनियर नायिका हुन् ।
सिवाकोटीले ‘गोपी’लाई लात हानेपछि नायिका वर्षा राउतलाई चलचित्रमा भित्र्याइएको छ । ‘गोपी’को शीर्ष भूमिकामा रहेका कलाकार खगेन्द्र लामिछाने पनि फिल्म छाडेका छन् । उनको ठाउँमा अब विपिन कार्कीले अभिनय गर्नेछन् ।















प्रतिक्रिया