
काठमाडौं । चार दशकदेखि नेपाली फिल्म, नाटक, टेलिफिल्म र कलाको उन्नयनमा सक्रिय छन्, मोहन निरौला । विद्यार्थीकालदेखि नै स्वाभिमानका विषयमा उनले कहिल्यै सम्झौता गरेनन् । त्यसैले ३० सालमा जनकपुरको रारा बहुमुखी क्याम्पसमा ‘साइन्स’का एकजना ठाकुर अध्यापकलाई उनले जुत्ता नै हाने । कारण थियो– हिन्दी भाषामा पढाउनु ।
‘ठाकुुर थरका प्रोफेसर थिए, साइन्सको विद्यार्थीलाई हिन्दी भाषामा पढाए । पटक्कै चित्त बुझेन घम्साघम्सी नै भयो’, निरौला दैनिक नेपाललाई सुनाउँछन्, ‘अति भएपछि मैले जुत्ताले पिटें ।’
१५ वर्षको उमेरमा प्रोफेसर पिट्ने विद्यार्थी कस्तो बन्छ होला ? कति उग्र हुन्छ होला ? त्यसको विवेचना उनका प्रशाकीय अधिकारी पुण्यप्रसाद निरौलाले आफ्ना सहकर्मी, सहयात्रीसँग गरेकै थिए होला । तर, उनी फरक निस्किए ।
निरौलाले पत्रकारिता गरे, कलाकारिता गरे । राजनीतिक दुशाग्रहमाथि आक्रामक प्रहार पनि गरे । जसको प्रतिफल उनले केही दिनका लागि भए पनि हत्कडी लगाएको संस्मरण संगाल्नुपर्यो ।
साइन्सको अध्ययन गरे पनि उनमा समाजमा भिज्ने नयाँ काम केही गर्नु थियो । आफुमा फरक शैली र ढाँचा देखाउने क्रममा ०३३ सालमा उनी पत्रकारितामा छिरे । लेख्न थाले । ०४६ सालसम्म यो निरन्तरताले क्रमभङ्गता पाएन । बरु, बीचैमा थपियो– कलाकारिता ।
‘हामीले कलाकारिता सुरू गर्दा यस्ता ठूला पर्दा एकाध थिए । टेलिभिजन त पटक्कै थिएन । नाटक मञ्चन हुन्थ्यो । नाटकतिर मेरो रूची बढ्यो ।’, उनी भन्छन्, ‘विस्तारै टेलिभिजन खुल्यो, फिल्महरू बन्न थालेपछि त्यतातिर ध्यान गयो ।’
बाबुको प्रशासकीय जीवनले जता जता डोहोर्यायो बाल्यकाल उतै–उतै बित्यो निरौलाको ।
आँशु साप्ताहिकका प्रकाशक/सम्पादकको जिम्मेबारी आफैंले बहन गरेका निरौलाले काठमाडौंमा साँघु, जानकारी, प्रतिध्वनी, नवरसलगायत त्यसताका चलेका पत्रिकामा कलम चलाए ।
आफ्नो पत्रिका अरुलाई चलाउन दिएका बखत उनले राजकाजको मुद्दा पनि सहनुपरेको थियो । ‘म सम्पादक रहेको पत्रिका मोहन भण्डारी, कृष्ण पोखरेलहरूले चलाउँछुु भने । सर्त राखेरै मैले चलाउन दिएँ । सरकारले दिने सुविधाको ७ सय मैले लिने, बाँकी पत्रिकाको कमाई उनीहरूले गर्ने’, उनी सम्झन्छन्,‘०४४ सालमा त्यसबेला विराटनगरको डिआइजी इन्द्रबहादुर शेरचनका कारणले राजाको फोटो लतपतियो भनेर राजकाज मुद्दा लगाइयो ।’ नाटक र फिल्ममा सक्रिय रहेका बेला निरौला एक वर्ष जेल बस्नुपर्यो ।
यदाकदा राजनीतिक अभिव्यक्तिका कारणले पनि निरौलालाई पक्राउ गरिन्थ्यो । ०५७ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गोली हान्नुपर्छ भनिदिए । उनलाई पक्राउ गरियो । तर, अभियोग पुष्टि नभएपछि अदालतले रिहा गरिदियो ।
कलेजमा कहिले पनि असफल नभएका निरौलालाई एसएलसी कमजोर नतिजामा पास गरेको भन्न किञ्चित संकोच छैन । ‘मैले एसएलसीचाहीँ तेस्रो डिभिजनमा पास गरेको थिएँ । कलेजमा कहिले पनि असफल भइनँ । तर, स्नातकोत्तर अध्ययन गरिनँ । कलाकारितामा लागेकालाई पढाईको अर्थ छैन भन्ने लाग्यो र गरिएन’, उनी भन्छन् ।
निरौला सामाजिक चेतनाका नाटक, वृत्तचित्र र फिल्मका लागि ख्याती कमाउने व्यक्ति हुन् । धेरैले उनलाई टेलिभिजनको पर्दामा देखिरहन्छन् । । नेपाल टेलिभिजनमात्र सञ्चालन हुँदा साँझ प्रस्तुत हुने ‘देवी’ टेलिसिरियलका लेखक तथा अभिनेता निरौलालाई नचिन्ने सायदै होलान् ।
‘टेलिभिजनमा आउन थालेपछि अझ बलियो परिचय बन्यो । तर त्यसअघि मैले फिल्महरूमा अभिनय, लेखन र सहायक निर्देशन, निर्देशनको काम पनि गरिसकेको थिएँ ।’, उनी सम्झन्छन्, ‘उद्धव पौडेलले बोलाएर ‘तिलहरी’ फिल्ममा सँगै काम गरौं भनेपछि मैले लेखें र अभिनय पनि गरें ।’
फिल्मनगरीमा पटकथा, संवाद र अभिनयका लागि उनको पहिचान बलियो छ । राष्ट्रप्रेमी छवि बनाएका उनी देशबाहेकका विषयमा त्यति रूची राख्दैनन् । त्यसैले झन्डै तीन दशकअघि उनले निर्देशन गरेको फिल्म ‘जन्मभूमि’को सार नै देशप्रेमसँग जोडिएको थियो ।
सोही फिल्मको नामबाट उनले पुनः जन्मभूमि निर्माण निर्देशन गरे जसमा भारतीय नाकाबन्दी, परदेशीने नेपालीको कथाव्यथा र समाजको चित्रणमा चुकेनन् । फलतः त्यसको केही समयपछि भारतले नेपालमा नाकाबन्दी नै लगाइदियो ।
कति कलाकार पर्दामा देखिनासाथ पासपोर्ट बनाएर विदेश जान खुट्टा उचाल्छन् । तर, कला क्षेत्रमा ४० वर्ष बिताएका निरौलाले अहिलेसम्म पासपोर्ट बनाएका छैनन् । उनी भन्छन्, ‘मलाई आवश्यक नै छैन त्यसैले बनाइनँ ।’
कलाक्षेत्रमा निरौलाको पहिलो प्रयत्न भने ०३८ सालमा दन्त्यकथा भित्रको क्रान्ति नाटकबाट भयो । त्यसको दुई वर्षअघि ०३६ सालदेखि नै अभिनय थालेका थिए ।
जब नेपालमा टेलिभिजनको युग आयो अनि उनले काँचका पर्दातिर आफुलाई अलमलाउन थाले ०४२ सालमा ‘सन्ताप’ टेलिफिल्म लेखनबाट । ‘देवी’, थोरै भए पुगीसरी, चेतना, आमा, जीवनचक्रजस्ता टेलिसिरियल लेखेर सामाजिक चेतनाका लागि काम गरेका निरौलाले फिल्म निर्देशन भने ०४९ ‘पुकार’बाट थालेका थिए ।
उनको लेखनदेखिको पर्दाको यात्राको गति तेज भइसकेको थियो । ‘तिलहरी’ फिल्म ०४४ सालमा लेखे । कलाकारितामै अबको जीवन बिताउँछु भन्ने लक्ष्य राखेपछि निरौलाले नयाँ पुस्ताको सहजीकरणका लागि ०५२ सालमा परिवर्तन नेपाल संस्था स्थापना गरे । जुन अहिलेसम्म पनि उनले चलाइरहेका छन् ।
फिल्म क्षेत्रमा श्रीकृष्ण श्रेष्ठ, केशव भट्टराई उनका भाइहरु हुनु् । भुमरी, कसममा श्रेष्ठलाई अभिनयमा डोहोर्याएका उनले ‘नाता’मा हिरोको रोलका लागि सिफारिस गरेका थिए ।
युगदेखि युगसम्ममा काम गर्दा चिनजान भएका मित्र छविराज ओझाको ‘जन्मभूमी’ निर्देशनको पहिलो फिचर फिल्म थियो ।
ओझासँग त उनले ०४७ सालमा नै काम गरेका थिए । राजेश हमालको कलाकारिताको पहिलो र कुशल खुड्किलो ‘युगदेखि युगसम्म’को स्क्रिप्ट लेखन र अभिनय निरौलाले तयार पारेका थिए ।
निरौला सामाजिक काममा पनि सक्रिय रहँदै आएका छन् । ललितपुरको सुनकोटीमा स्थायी बसोबास गर्दै आएका उनी ‘फिल्मी दुनियाँको क्षेत्रमा लाग्नु भनेको समाजसेवा, देशको रक्षाका लागि काम गर्नु’ ठान्छन् ।
पछिल्लो समय ‘प्रेमनाथ’ भन्ने फिल्मका लागि व्यस्त उनी राजनीतिमा पनि चाख राख्छन् तर गर्दैनन् । मानिसहरू सादचार, अनुशानस र कर्तव्यपिनष्ठ हुन नसकेकोप्रति चिन्तित रहेका निरौला भन्छन्,‘धर्म निरपेक्षता, करमाथि करका कारण अहिलेको सरकारबाट पनि जनता पीडित भएँ ।’
जनकपुरमा पढ्दाका लवकान्त मैनाली, विष्णुप्रसाद उपाध्यायका सहपाठी निरौला भन्छन्,‘सदाचारका लागि पनि बोल्ने बेला भयो ।’















प्रतिक्रिया